‘डुमरवानाको एकिकृत कृषि सेवा केन्द्रबाट किशानहरु लाभान्वित’

प्रदिप गौतम /
साना किशान कृषि सहकारी संस्था लिमिटेडले जीतपुरसिमरा उप–महानगरपालिकाको वडा नम्बर १४ स्थित मौलापुर निर्माण गरेको एकिकृत कृषि सेवा केन्द्रबाट किशानहरु लाभान्वित भएका छन् । संस्थाले सञ्चालनमा ल्याएको कृषि सेवा केन्द्रबाट प्रत्यक्ष रुपमा फाईदा लिन सकिने भएपछि किशानहरु लाभान्वित भएका हुन् ।
‘हामीले कृषि सेवा केन्द्रमा राखेको यन्त्र तथा उपकरण, कोल्ड स्टोर लगायतबाट किशानहरुले प्रत्यक्ष रुपमा सेवा लिईरहनुभएको छ, यसले गर्दापनि किशानहरुलाई फाईदा भएको छ’ संस्थाका अध्यक्ष शिवप्रसाद अधिकारीले भन्नुभयो । संस्थाले ५ करोड ३४ लाख ४५ हजार ९ सय ३२ रुपैयाको लागतमा कृषि सेवा केन्द्र निर्माण गरेको हो । कृषि सेवा केन्द्रको तत्कालिन कृषिमन्त्री हरि पराजुलीले शिलन्यास गर्नुभएको थियो । कृषि सेवा केन्द्रमा सहकारी खाद्य उद्योग, यन्त्रशाला तथा उपकरण, शीत भण्डार निर्माण गरिएको छ ।
कृषि सेवा केन्द्रमा विऊविजन उत्पादन तथा प्रशोधन केन्द्र निर्माणको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । कृषि सेवा केन्द्र निर्माण गर्न सरकारले २ करोडभन्दा बढि आर्थीक सहयोग गरेको छ । ‘सरकारले यन्त्र तथा उपकरण, यन्त्रशाला भवन, गार्ड हाउस तथा मेशिनरी शेड, शीत भण्डार र विऊविजन उत्पादन तथा प्रशोधन केन्द्र निर्माण गर्न हामीलाई सहयोग गरेको हो, त्यसबाहेक अरु सबै शिर्षकमा हामीले रकम खर्च गरेका छौ’ अध्यक्ष अधिकारीले भन्नुभयो ।
संस्थाले आफ्नै लगानीमा केषि सेवा केन्द्रको १ बिगाह क्षेत्रफलको जग्गा आफैले खरिद गरेकोसमेत उहाले बताउनुभयो । ‘खासगरी यो कृषि सेवा केन्द्रबाट किशानहरुलाई बढि फाईदा पुग्ने हामीले बिश्वास लिएका छौ’ अध्यक्ष अधिकारीले भन्नुभयो ।