मलेसिया जाने कामदारसँग अवैध रुपमा रकम उठाउने ४८ जना पक्राउ

ए वान डेस्क
६ जेष्ठ २०७५, आईतवार २१:४८

मलेसिया जाने कामदारसँग अवैध रुपमा रकम उठाउने ४८ जना पक्राउ परेका छन् । आइतबार प्रहरीले काठमाडौंबाट ४४ र ललितपुरबाट ४ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा वान स्टेप सेन्टर ओएससी र भिएलएन, माइग्राम्स, जीएसजीलगायतका संस्थाका सञ्चालक र कर्मचारी छन् । सिण्डिकेट कायम गरी यी संस्थाले स्वास्थ्य परीक्षण, राहदानी संकलन, राहादानी दूतावासमा लैजाने लगायतका काम गरेर कामदारसँग शुल्क लिने गरेका थिए ।

सरकारले मलेसिया जाने श्रमिकलाई आर्थिक भार परेको भन्दै विभिन्न बहानामा रकम असुल्न राखेका यस्ता कम्पनीले लिने शुल्क खारेज गरेको थियो । तर पनि उनीहरुले रकम असुल्दै आएका थिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया जाने कामदारसँग अवैध रुपमा रकम उठाएको र यो शुल्क अवैधानिक भएको निर्णय गर्दै त्यसलाई रोक्न गृह मन्त्रालयलाई पत्राचार गरेपछि प्रहरीले उनीहरुलाई पक्रेको हो ।

पक्राउ पर्नेमा वान स्टेप सेन्टर ओएससी र भिएलएनका सञ्चालक राम श्रेष्ठसहितका छन् । पक्राउ पर्ने सबैको नाम प्रहरीले सार्वजनिक गरेको छैन । विभिन्न कम्पनीले फरक फरक शीर्षकमा मलेसिया जाने कामदारसँग १७ हजार रुपैयाँ अतिरिक्त शुल्क लिँदै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*