सुनकाण्डमा पूर्व डीआईजी, एसएसपीसहित को–को जेल चलान भए ?

मोरङ जिल्ला अदालतले हत्या तथा सुन काण्डमा संगठित अपराध गरेका २८ जनालाई जेल चलान गरेको छ ।
दुई जनामध्ये एक जनालाई साधारण तारेखमा र एकजनालाई १५ हजार धरौटी माग गरेको छ । जिल्ला अदालत मोरङका निमित्त श्रेस्तेदार केदारप्रसाद गौतमले आदेशबारे जानकारी दिँदै तत्कालीन अन्तर्राष्ट्रिय विमानस्थलका एसएसपी श्याम खत्रीका ड्राइभर विष्णुबहादुर खडकालाई १५ हजार धरौटी र खत्रीकै अंगरक्षक हवल्दार अम्मरबहादुर थापा मगरलाई साधारण तारेखमा छाड्ने निर्णय भएको जानकारी दिए ।
न्यायाधीश नारायणप्रसाद शर्माको इजलाशले विष्णुबहादुर खड्काको सम्बन्धमा तत्कालीन विमानस्थलका एसएसपी श्याम खत्रीको ड्राइभर रहँदै आएकोमा निजकै निर्देशनमा तस्करीका सुन गाडीमा पुर्याई दिएबापत मोहन काफ्लेबाट २ पटकमा १५ हजार लिएको भन्ने देखिएकोले त्यसै अनुसारको धरौटी माग गरिएको हो । उनले १५ हजार तिर्न नसके मात्र कारागार पठाउनु भनिएको गौतमले जानकारी दिए ।
त्यस्तै अन्य २८ जनालाई भने पुर्पक्षको लागि जेल जलान गरिएको छ । जेल चलान हुनेहरुमा पूर्व डीअाईजी गोविन्दप्रसाद निरौला, एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी पनि रहेका छन् । त्यस्तै टेकराज मल्ल ठकुरी, मोहन काफ्ले, लाक्पा शेर्पा, माधव भन्ने मदनप्रसाद घिमिरे, कृष्ण भन्ने नरेन्द्र कार्की, राजन कुमार, भुजुङ गुरुङ, आरके भन्ने राजेन्द्रकुमार शाक्य, चाचाजी भन्ने महावीर प्रसाद गोल्यान अग्रवाल, बालकृष्ण सञ्जेल, गोपालकुमार श्रेष्ठ, चन्दन भन्ने वीरेन्द्र मान श्रेष्ठ, तक्ने भन्ने पुण्यप्रसाद तामाङ, दोराम खत्री, बालकृष्ण श्रेष्ठ, हेमन्त गौतम, कपिलराज पुरी, एलबी भन्ने लालबहादुर मगर, सम्बीर प्रसाद तोलाङ्गे, राज महर्जन, राजन थापा , तोलाराम थारु, अमरमान डंगोल, विकासराज खनाल, सञ्जयबहादुर राउतलाई पनि जेल चलान गरिएको छ ।
उनीहरुलाई अपराध निवारण ऐन २०७० को दफा ४१ तथा मुलुकी ऐन अ.बं. देहाय २ को आधारमा नियमानुसार सिदा खान पाउने गरी अ.बं. १२१ बमोजिम थुनुवा पूर्जी दिई पुर्पक्षका लागि थु्नामा राख्न कारागार चलान गरिएको न्यायाधीश नारायण शर्माले दिएको आदेशमा उल्लेख गरिएको छ ।