जीतपुरसिमरामा प्रथम मेयर कप फुटबल हुने
प्रदिप गौतम /
जीतपुरसिमरा उप–महानगरपालिकामा पहिलो पटक प्रथम मेयर कप फुबटल प्रतियोगिता हुने भएको छ । आयोजक मुल समारोह समितिले आज सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको हो ।
जीतपुरसिमरा उप–महानगरपालिकाको सहयोगमा सामुदायिक विकासशील क्लब सिमराले प्रतियोगिता आयोजना गर्न लागेको हो । फुटबल प्रतियोगिता जेठ १७ गतेदेखि असार २ गतेसम्म सञ्चालन हुने आयोजक मुल समारोह समितिका संयोजक बसन्त लामाले जानकारी दिनुभयो ।
प्रतियोगिताको बिजताले ५० हजार र उप–बिजेताले २५ हजार रुपैया नगद पाउनेछन् । लामाका अनुसार उतकृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्ड, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई समान पाच–पाच हजार रुपैयाले पुरस्कृत गरिनेछ । प्रतियोगितामा २४ वटा टिम सहभागी हुने बताईएको छ ।
जीतपुरसिमरा उप–महानगरपालिकाको २४ वटै वडाबाट टिम सहभागी गराईने संयोजक लामाले जानकारी दिनुभयो । प्रतियोगिताको मिडिया प्रवद्र्धकमा नेपाल खेलकुद पत्रकार मञ्च बारा रहेको छ । पत्रकार सम्मेलनमा प्रतियोगिता आयोजना गर्नुको उदेश्यबारे जीतपुरसिमरा उप–महानगरपालिकाका प्रशासकिय अधिकृत रामकृष्ण उप्रेतीले प्रष्ट पार्नुभएको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै जीतपुरसिमरा उप–महानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले खेलकुद तथा रचनात्मक क्रियाकलापमा जीतपुरसिमरालाई स्थापित गराउन प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो । कार्यक्रममा उप–प्रमुख सरस्वती चौधरी, सामाजिक विकास समितिकी प्रमुख शोभा कार्की, होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछाने, नव जनजागृती युवा क्लब सिमराका महासचिव शम्भुसिंह ठकुरी लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
आयोजक क्लबका अध्यक्ष दिपक भट्राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नेपाल खेलकुद पत्रकार मञ्च बाराका अध्यक्ष सुनिल गाउलले गर्नुभएको थियो । कार्यक्रममा क्लबका निरोज पुडाशैनीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।















