जीतपुरसिमराका जनप्रतिनिधसंगको भेटमा प्रचण्डले भने : टाङ्गियावासीलाई निराश पार्ने छैन

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले दोश्रो अन्तराष्ट्रिय बिमानस्थलभित्र परेको टाङ्गियावस्तीको समस्याबारे आफु गंभिर रहेको बताउनुभएको छ । टाङ्गियावासीको समस्याका बिषयमा प्रचण्डको ध्यानाकष्र्ण गराउन काठण्माडौ पुगेको जनप्रतिनिधिको टोलिसंग उहाले टाङ्गियावासीको समस्याका बिषयमा आफु अवगत रहेकोभन्दै यसको उचित व्यवस्थापन गर्ने बताउनुभयो ।
यसको लागी सरकारसंग बिशेष पहल गर्ने उहाले बताउनुभयो । ‘म यो समस्याको बिषयमा गंभिर छु, ठुक्क भए हुन्छ टाङ्गियावासीलाई निराश पार्ने छैन्’ प्रचण्डले भन्नुभयो । छलफलमा नेपाल कम्युनिष्ट पार्टीका नेता राजन पौडेलले दोश्रो अन्तराष्ट्रिय बिमानस्थलभित्र परेको टाङ्गियावस्तीको उचित व्यवस्थापन गर्नेतर्फ बिशेष ध्यान दिन प्रचण्डलाई आग्रह गर्नुभयो । ‘जग्गा दिएर यसको व्यवस्थापन गर्नुपर्छ, त्यसतर्फ तपाईको ध्यान जानेछ भन्ने बिश्वास छ’ पौडेलले भन्नुभयो ।
जवाफमा प्रचण्डले यस बिषयमा सरकारसंग कुरा भईरहेकोभन्दै यथाशिघ्र पहल कदमी थाल्ने बताउनुभयो । फरक प्रशंगमा पौडेलले फास्टट्रयाकको अवलोकन गर्नसमेत अध्यक्ष प्रचण्डलाई आग्रह गर्नुभएको थियो । प्रचण्डले छिट्टै फास्टट्रयाकको अवलोकन गर्नेभन्दै यसको काम तिब्रताका साथ अघि बढिरहेको बताउनुभयो ।
साथै यसबिषयमा सरकारसंग थप छलफल गर्नेसमेत उहाले बताउनुभयो । प्रचण्डलाई टाङ्गियावासीको समस्या समाधान गर्ने बिषयमा वडा नम्बर १६ का वडा अध्यक्ष केदार बजगाई र कार्यपालिका सदस्यसमेत रहेका टाङ्गियावस्ती निवासी सुन्दर सुनुवारले ज्ञापन पत्र बुझाएका थिए ।
भेटमा जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २ का अध्यक्ष तिलकबहादुर श्रेष्ठ, ४ का अध्यक्ष ईश्वर केसी, १४ का अध्यक्ष रामशरण बर्तोला, १५ का अध्यक्ष रामप्रसाद लामिछाने, १६ का अध्यक्ष केदार बजगाई, २१ का अध्यक्ष कृष्णबहादुर ठकुरी, २३ का अस्लम देवान, कार्यपालिका सदस्य सुन्दर सुनुवार, युवा नेता सुनिल गुप्ता, व्यवसायी देवकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।