जीतपुरसिमरामा मेयर कप शुरु, उद्घाटन खेलमा वडा नं. १ र ११ बिजयी
सामुदायिक बिकासशील क्लबको आयोजनामा सुरु भएको प्रथम मेयर कप फूटवल प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. १ र वडा नम्बर ११ बिजयी भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा आयोजित प्रतियोगिताको पहिलो दिनको खेलमा वडा नं. १ ले वडा नं. १३ लाई ३–० गोलले पराजित गरेको हो ।
वडा नं. ११ ले वडा नं. ६ लाई सडन डेथमा पराजित ग¥यो । वडा नं. १ लाई जित दिलाउन निरज मगर, उत्सव कंसकार र प्रशान्त चौधरीले समान १/१ गोल गरेका थिए । निर्धारित ५० मिनेटको खेलमा वडा नं. १ ले खेलको ९ औं मिनेटमा अग्रता लिएको थियो ।
उत्कृष्ट लयमा देखिएको वडा नं. १ ले दुई गोल दोस्रो हाफमा गरेको हो । वडा नं. १ ले वडा नं. १३ को अधिकांश प्रयास बिफल तुल्याएको थियो । खेलको म्यान अफ दि म्याच वडा नं. १ का निरज मगर घोषित भए ।
यसैगरी दोस्रो खेलमा वडा नं. ११ ले वडा नं. ६ लाई सडन डेथमा पराजित गरेको छ । रोमाञ्चक प्रतिस्पर्धामा दुबै टिमले गोल गर्न नसकेपछि खेल टाईब्रेकर हुदै सडन डेथमा पुगेको हो । सडन डेथमा वडा नं. ११ का बिजयी गोल दीपलाल रायले गरेका थिए । वडा नं. ६ का युराज अंसारीको प्रहार पोष्टमा ठोक्किन पुगेको थियो । यसअघि टाईब्रेकरमा दुबै टिमले ४–४ गोल गरेका थिए ।
टाईब्रेकरमा वडा नं. ११ का लागि कप्तान रामानन्द बछार, बृजमोहन चौधरी, विनय चौधरी र गोलरक्षक जयराम चौधरीले गोल गरेका थिए । पर्शुराम चौधरीको प्रहार वडा नं. ६ का गोलरक्षक मनोज थापाले बचाउ गरेका थिए । वडा नं. ६ का लागि टाईब्रेकरमा अबिनाश कुमार, अक्की सिंह, कप्तान विरेन्द्र चौधरी र राजिब सिंहले गोल गरे । दिलिप माझीको प्रहार वडा नं. ११ का गोलरक्षक जयराम चौधरीले नियन्त्रणमा लिएका थिए ।
उद्घाटन खेलमा जित हात पारेका दुबै टिमले सेमिफाईनल प्रवेशका लागि बुधवार प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता अन्तर्गत शुक्रवार वडा नं. २ र वडा नं. १८ बीच पहिलो खेल हुनेछ । दोस्रो खेलमा वडा नं. २१ र वडा नं. १५ बी प्रतिस्पर्धा हुनेछ ।
नेपाल खेलकुद पत्रकार मञ्च प्रवद्र्धक रहेको प्रतियोगिताको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै मेयर डा. पौडेलले दक्ष र क्षमतावान खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रतियोगिताको आयोजना गरिएको बताए । खेलकुद क्षेत्रको संरक्षण र प्रवद्र्धन नगरेसम्म समृद्धिको परिकल्पना गर्न नसकिने मेयर डा. पौडेलको भनाई थियो ।
कार्यक्रममा बोल्दै उपमेयर सरस्वती चौधरीले आगामी दिनमा विभिन्न खेलकुद प्रतियोगिता आयोजना हुदै जाने बताएकी छिन् । सामुदायिक बिकासशील क्लबका अध्यक्ष दिपक भट्टाराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवकुमार कार्की, जीतपुरसिमरा उपमहानगरपालिकाका २४ वटै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, विभिन्न राजनितिक दलका नेता, विभिन्न सामाजिक तथा शैक्षिक संघसंस्थाका प्रतिनिधि, स्थानियको उपस्थिती रहेको थियो ।
कार्यक्रममा क्लबका सचिव निरज पुडासैनीले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रमको सहजीकरण नेपाल खेलकुद पत्रकार मञ्च बाराका अध्यक्ष सुनिल गाउलेले गरेका थिए । कार्यक्रममा सिमरास्थित न्यु एकता बोर्डिङ स्कुलका विद्यार्थीले सांगितिक प्रस्तुती दिएका थिए ।















