दोश्रो अन्तराष्ट्रिय बिमानस्थल : राजनीतिको भूमरीमा पर्ने खतरा

ए वान डेस्क
२३ जेष्ठ २०७५, बुधबार १६:०२

६ लाख ठूला र १८ लाख साना रुख काटनुपर्ने वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) वन मन्त्रालयले स्वीकृत गरेसँगै बारामा निर्माण हुने भनिएको दोश्रो अन्तराष्ट्रिय बिमानस्थल वातावरण राजनीतिको भूमरीमा पर्ने खतरा बढेको छ ।

लामो समयदेखि चर्चामा रहेको निजगढ विमानस्थल बनाउनको लागि सबैभन्दा ठूलो काम मध्येको एक काम इआइए त वन तथा वातावरण मन्त्रालयले स्वीकृत गर्‍याे । तर विकासको यो प्रयासलाई भूमरीमा पार्ने तातो बहस पनि सुरु भएको छ, २४ लाख रुख काटेर विमानस्थल बनाउनैपर्छ त ? यस विषयलाई विवादमा ल्याउन नेपालमा बसेका केही विदेशी, नेपालका केही विशुद्ध वातावरणवादी र गैरसरकारी संस्था जम्जमाएर अघि सरेका छन् ।

दोश्रो अन्तराष्ट्रिय बिमानस्थल : करोडौ यात्रुको परिकल्पना

विमानस्थल बन्यो भने त्यसले नेपालकै अर्थतन्त्रलमा सकारात्मक परिवर्तन ल्याउन सक्छ भन्ने आँकलन सरकारको छ । विमानस्थलमा जतिसुकै ठूला जहाज पनि उडान र अवतरण गर्न सक्छन् । आजभन्दा झण्डै २५ वर्ष अघिदेखिका अध्ययनले विमानस्थल पूर्वी र पश्चिम एसिया जोड्ने एसियाकै हव विमानस्थल हुन सक्छ भन्ने कुरा देखाइसकेका छन् ।

विमानस्थलको लागि विस्तृत सम्भाव्यता अध्ययन (डिएफएस) बनाएको कोरियन कम्पनी ल्याण्डमार्क वर्ल्डवाइड (एलएमडब्ल्यु) ले विमानस्थल पूर्ण क्षमतामा चल्दा बार्षिक ६ करोड यात्रु धान्न सक्ने देखाएको छ । यो विमानस्थलको लागत १ खर्ब २१ अर्ब रुपैयाँ भन्दा धेरै अनुमान गरिएको छ । विमानस्थल बनाउने क्रममा नै नेपालको आर्थिक गतिविधि बढ्नेछ । धेरैले रोजगारी पाउनेछन् । विमानस्थलको लागि नेपालका धेरै उद्योगले काम पाउनेछन् । विमानस्थल निर्माणसँगै यसले नेपालमा आर्थिक हलचल उत्पन्न गर्नेछ र अहिलेसम्म भएका विकासको भन्दा धेरै ठूलो चहल पहल ल्याउनेछ ।

यो विमानस्थललाई देशको समृद्धिको आधार मानेर परिकल्पना गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने यो विमानस्थल नेपालको आउने पुस्ताको लागि निकै महत्वपूर्ण हुने बताउनुहुन्छ ।

‘वार्षिक केही लाख पर्यटक ल्याउन र केहि लाख यात्रु आउजाउ गर्न त त्रिभुवन विमानस्थल छ, अबको २ वर्षभित्रमा भैरहवा विमानस्थल बन्छ, पोखरा पनि बन्दैछ, तर दोश्रो अन्तराष्ट्रिय बिमानस्थल करोडको संख्यामा पर्यटक र यात्रुको लक्ष्य राखेर बनाउन थालिएको छ’ सहसचिव लामिछानेले भन्नुभयो ‘समृद्धि र विकासको लागि यो विमानस्थल कोषेढुंगा हुनसक्छ ।’

यो विमानस्थल अबको एक डेढसय वर्षसम्मलाई लक्षित गरेर बनाउन थालिएको मन्त्रालयको भनाई छ ।

पोखरा विमानस्थलले साना बोईङ विमानहरुलाई उडान र अवतरण सुविधा दिन्छ, भैरहवाले पोखराले भन्दा ठूला विमान धान्न सक्छ । तर दोश्रो अन्तराष्ट्रिय विमानस्थलले संसारका मुख्य गन्तब्यमा जाने ठूला एयर बस र सबैखाले ठूला विमानको उडान, अवतरण, रिफ्युलिंग जस्ता सबैखाले सेवा दिने योजना छ । विमानस्थल बनेपछि विभिन्न देशका ठूला जहाज आउजाउ गर्नेछन् । ठूला कार्गो विमान चल्ने भएपछि सामाग्री आयात निर्यातमा सजिलो हुनेछ ।

पूर्वाधारविज्ञ डाक्टर सूर्यराज आचार्यको विचारमा अन्तर्राष्टिय विमानस्थल नेपालको लागि पूर्वाधारको पनि पूर्वाधार हो । आचार्य भन्नुहुन्छ ‘यसको प्रभाव हाम्रो पर्यटन, अन्तर्राष्ट्रिय कनेक्टिभिटी र नेपालको विकासको लागि कोशेढुंगा हुन सक्छ’ । आचार्यले भन्नुभयो, ‘सामान्य तरिकाले हेर्दा पनि यो विमानस्थल पश्चिम एसिया र दक्षिणपूर्वी एसिया जोड्ने ठूलो सेतु हो । त्यसैले यो हाम्रो लागि मात्रै नभइ दक्षिण एसियाकै हव विमानस्थल बन्न सक्छ ।’

डाक्टर आचार्य जस्तै प्राध्यापक पिताम्बर शर्मा पनि निजगढ विमानस्थल बने त्यसले नेपालको अर्थ व्यवस्थामा हलचल ल्याउने बताउनुहुन्छ । शर्मा भन्नुहुन्छ ‘यो नेपालको खास प्रकारको परियोजना हो, त्यसैले विमानस्थल निर्माणलाई देश विकास र सम्बृद्धिसँग जोडेर हेर्नुपर्छ ।’

दोश्रो अन्तराष्ट्रिय बिमानस्थल बनेपछिका फाइदा र सजिला

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मात्रै अहिले नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल हो । उडान र अवतरणका हिसावले पनि त्रिभुवन विमानस्थलको विकल्प पोखरा र भैरहवा होइनन् । त्यसमाथि काठमाडौंको विमानस्थलबाट उडेको विमानमा कुुनै खराबी आएमा या विमानस्थलमै समस्या देखिदा नेपाल आउदै गरेका विमान भारत लगेर अवतरण गर्नुपर्ने वाध्यता छ । लामो समय सिमरामाथिको आकासमा होल्ड गर्दा, भारतमै डाइभर्ट गर्दा नेपाल आउने विमानले भारतका विमानस्थलमा ल्यान्डिङ, पार्किङको महँगो शुल्क तिर्नुुपर्छ ।

विमानस्थललेअहिलेका यी सबै समस्याको समाधान दिनेछ । नेपाल आउजाउ गर्ने विमानले डाइभर्सन भएर भारत जानुपर्दैन । त्रिभुवन विमानस्थलबाट डाइभर्सन भएका विमान विमानस्थलमै अवतरण हुन्छन् । अहिले भारतीय विमानस्थलमा जम्मा हुने पैसा विमानस्थलमा जम्मा हुनेछ ।

‘उडान र अवतरणका सजिलाका हिसावले यो विमानस्थलले क्रान्ति ल्याउँछ, शून्य भिजिविलिटीमा पनि उडान र अवतरण हुने उपकरण रहने अनि सबै अपरेसन सजिलै हुने भएकाले एअरलाइन्सहरु पनि झन्झट नमानी आउछन !’ सहसचिव लामिछाने भन्नुहुन्छ, ‘त्यो विमानस्थलमा विमानको लागि कुनै चुनौती नै हुँदैन, काठमाडौंको मौसममा खराबी आएमा भारत जानुपर्ने बाध्यता पूर्ण रुपमा हट्नेछ ।’

त्यस्तै, त्रिभुवन विमानस्थल समुन्द्री सतहबाट साढे १३ सय मिटरको उचाइमा रहेको र वरिपरि वस्ती र अग्ला संरचना भएकाले यहाँ आउने ठूला विमानले पूर्ण क्षमतामा भार बोक्न सक्दैनन् तर दोश्रो अन्तराष्ट्रिय बिमानस्थल बनेपछि विमानहरुले पूर्ण क्षमताको भार बोक्न सक्नेछन् ।

२४ लाख रुखको नाममा विमानस्थल भूमरीमा पर्ने खतरा

वन तथा वातावरण मन्त्रालयले अन्तर्राष्ट्रिय विमानस्थलको इआइए स्वीकृत गरेपछि रुख काट्ने जिम्मा नेपाली सेनाले पाएको छ । तर नेपालका केही वातावरणविद्, केही विदेशी वातावरणविद् अनि एनजिओ र आइएनजिओले भने २४ लाख रुख काटेर विमानस्थल बनाउँदा नेपालको पर्यावरण ध्वस्त हुने भन्दै आपत्ति जनाउन थालेका छन् । केही विदेशी नागरिकले त नेपालले २४ लाख रुख काटेर बनाउन लागेको विमानस्थललाई हवाइ रुट नदिन भारतसित सामाजिक सञ्जाल मार्फत अपिल समेत गरेका छन् ।

तर संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने २४ लाख रुख काट्ने कुरा बेकारको हल्ला हो भन्नुहुन्छ । ‘विमानस्थल बाहिर ठूलो सहर बनाउने हो भने मात्रै २४ लाख रुख काट्नुपर्छ । तर अहिले विमानस्थल बाहिर सहर बनाउने योजना नै बनाएका छैनौं त्यसैले यति धेरै संख्यामा रुख काट्नु पर्दैन ।’ उहाँले भन्नुभयो ।

विमानस्थलको ईआईए स्वीकृत भएलगत्तै उठेका यस्ता विवादबाट पूर्वाधारविद र विज्ञहरुको चिन्ता बढ्न थालेको छ । ‘विकासको कुरा गर्ने वित्तिकै त्यहाँ राजनितिक अर्थशास्त्र जोडिएको हुन्छ, तर जब विकासमा वातावरणको कुरा जोडिन्छ, त्यहाँ ग्लोवल पोलिटिक्स र ग्लोवल इकोनोमि पनि जोडिन्छ’ पूर्वाधारविज्ञ डाक्टर आचार्य भन्नुहुन्छ, ‘जुन जातको रुख हो, त्यै जातको रुख त्यै ठाउँमा लगाउनुपर्ने चलनले नेपालमा विकास गर्न कत्तिको गाह्रो छ भन्ने प्रष्ट हुन्छ ।’

डाक्टर आचार्यले नेपालको विकासको बाटोमा केही व्यक्ति र आइएनजिओले हरेक पटक तगारो हालेको बताउनुभयो ।

डाक्टर आचार्यले भन्नुभयो ‘यो अवस्था देखेर म दिक्दार छु,राजधानीमा बंगला बनाएर बस्ने केहि व्यक्तिहरु नेपालको पूर्वाधार विकासका कुरा गर्नेलाई राक्षस हुन्, इन्जिनियर भनेका बुद्धि नभएका हुन्, विकास र ठूला परियोजनाका कुरा गर्नेलाई मंगलग्रहबाट झरेको भन्ठान्छन्, त्यस्ता कथित वातावरणवादी र बुद्धिजिवीले नेपालाई कहिले पनि विकासित हुन दिन्नन’ ।

यस्तै प्राध्यापक पिताम्बर शर्मा पनि विकसित देशले नेपाल जस्ता साना देशलाई पर्यावरणका नाममा थिचोमिचो गरिरहेको बताउनुहुन्छ । शर्मा भन्नुहुन्छ ‘विमानस्थल बनाउँदा काटिने रुखको बारेमा केहि व्यक्ति र नेपालमा काम गर्ने आइएनजिओले चासो राख्नु स्वभाविक भए पनि विकास नै रोक्ने गरि भएका चलखेलबारे सरकार बेलैमा सचेत हुनुपर्छ ।

शर्माको मत छ ‘ठूलो हानी गरेर विकास गर्नुहुँदैन, मामलामा पनि जति काटिन्छ त्यत्ति रुख अन्यत्र रोपेर र विमानस्थल पुग्ने बाटोमा सघन हरियाली बनाएर त्यसलाई सन्तुलन कायम गर्न सकिन्छ !’

‘रुख काट्ने विषय नउचालौं, विमानस्थल हराभरा बनाउने योजना बनाऔं’

प्राध्यापक पिताम्बर शर्मा विमानस्थल पनि नबनाई नहुने र रुख पनि नकाटी नहुने भएकाले यसको विकल्प खोज्नुपर्ने बताउनुहुन्छ । चाहिने रुख काट्ने, काटिएको रुखको नयाँ ठाउँमा वृक्षारोपण गरेर सघन परिपूर्ति गर्ने र सँगसँगै विमानस्थल वरपर पनि हरियाली बनाएर त्यो ठाउँको पर्यावरण जोगाउन सकिने उहाँको भनाई छ ।

‘विकास भनेको सृजनात्मक विकास नै हो, त्यसैले विनास हुन्छ भनेर टसमस नगरी बस्ने पनि होइन, मनलाग्दी पनि गर्ने होइन, हामीले विकासलाई सृजनात्मक बनाउनुपर्छ’ शर्माले भन्नुभयो, ‘विमानस्थलसम्म पुग्ने बाटो र विमानलाई असर नपर्ने गरि मापदण्डभित्र रहेर हरियाली जोगाइरहन सकिन्छ ! त्यसैले अहिलेदेखि नै विमानस्थल वरपर हरियाली बनाउने योजना बनायौं भने २४ लाख रुख काटिने हल्ला गर्नेहरुको मुख बन्द हुन्छ र हाम्रो पर्यावरण पनि जोगिन्छ ।’

विमानस्थल बनाउँदा नेपाल मरुभूमि बन्दैन

केही वातावरणविद्का तर्क र विश्लेषण हेर्दा यस्तो लाग्छ २४ लाख रुख काटिएपछि नेपालको जंगलै सखाप हुने र नेपाल मरुभुमिमा परिणत हुन्छ । केही व्यक्ति र संघ संस्थालबाराका रुख काट्दा सगरमाथाको हिउँ नै सकिने अनि नेपालमा पानी नै नपर्नेसम्मका तर्क दिन थालेका छन् ।

तर वन मन्त्रालय र वन विभागकै तथ्याङ्ख हेर्दा नेपालको कुल भागको ४४ दशमलव ७४ प्रतिशत क्षेत्र जंगलले मात्रै ढाकिएको छ । सरदर ४५ प्रतिशत जंगल भएको देशमा २४ लाख रुख र ८ सय हेक्टर अत्यन्तै सानो परिमाण हो । त्यसमाथि ईआईएले एउटा रुख काटे वापत २५ वटा रुख रोप्नुपर्ने शर्त राखेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले एउटा बराबर २५ रुख नभए पनि ५ वटा रोप्न सकिने भनिसकेको छ ।

पूर्वाधारविज्ञ डाक्टर सूर्यराज आचार्य भन्नुहुन्छ, ‘अहिलेका कुनै पनि विकसित देशमा हेर्ने हो भने उनीहरुको प्राकृतिक जंगल ६/७ प्रतिशत भन्दा धेरै छैन । उनीहरुले आफू धनी भए पछि दोस्रो किसिमको जंगलको विकास गरेका हुन्, तर विडम्बना ! उनीहरु नै ४५ प्रतिशत जंगल भएको देशलाई खबरदार तिमीहरु जंगल छुनै पाउँदैनौ भन्छन !
उज्यालो अनलाईनबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*