मेयर कप फूटवल : वडा नं. ५ क्वार्टरफाईनलमा प्रवेश

वडा नं. १४ लाई पराजित गर्दै वडा नं. ५ सिमरामा जारी प्रथम मेयर कप फूटवल प्रतियोगिताको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शनिवार भएको खेलमा वडा नं. १४ माथी ३–० को जित निकाल्दै वडा नंं ५ अन्तिम आठमा प्रवेश गरेको हो । वडा नं. ५ को जीतमा कृपा चौधरी, रामोध्याय चौधरी र श्रीराम चौधरीले गोल गरे ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुबै टिमले कुनै गोल गर्न सकेनन् । दुबै टिमले पहिलो हाफमा सिर्जना गरेको थुप्र्रै अवसर खेल फालेका थिए । वडा नं. ५ ले तीन गोल नै दोस्रो हाफमा गरेको थियो ।
दोस्रो हाफमा आक्रामक खेल प्रदर्शन गरेको वडा नं. ५ का लागि ५३ औं मिनेटमा कृपा चौधरीले अग्रता दिलाएका थिए । वडा नं. १४ को रक्षापंक्ती सम्हालिन नसक्दा कृपाले हेडमार्फत गोल गरे ।
खेलमा अग्रता लिएपछि वडा नं. १४ लाई दवावमा राखेको वडा नं. ५ ले ६४औं मिनेटमा दोस्रो गोल गरेको थियो । रामोध्याय चौधरीले गोल गर्दै खेल २–० को स्थितीमा पु¥याएका थिए । निर्धारित ७० मिनेटको खेलको अन्तिम समयमा वडा नं. ५ ले तेस्रो गोल थपेको थियो । अस्मित चौधरीको पासलाई सदुपयोग गर्दै कप्तान श्रीराम चौधरीले गोल गर्दै टिमलाई ३–० को जीत दिलाए ।
कप्तान चौधरी खेलको म्यान अफ दि म्याच घोषित भए । उनलाई वडा नं. ५ का अध्यक्ष मोहित चौधरी र वडा नं. १४ का अध्यक्ष रामशरण बर्तौलाले म्यान अफ दि म्याच प्रदान गरेका थिए ।
प्रतियोगितामा वडा नं. ५ को यो दोस्रो जीत हो । यसअघि पहिलो खेलमा वडा नं. ५ ले वडा नं. ९ लाई पराजित गरेको थियो । वडा नं. १४ ले भने वडा नं. १७ लाई पराजित गरेको थियो ।
प्रतियोगिता अन्तर्गत आईतवार वडा नं. ४ र वडा नं. १२ बीच खेल हुनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा सामुदायिक बिकासशील क्लबले आयोजना गरेको प्रतियोगिताको बिजेताले ५० हजार र उपबिजेताले २५ हजार प्राप्त गर्नेछ ।