४० वर्षपछि ब्राजिल पहिलो खेलमा बराबरीमा रोकियो

ए वान डेस्क
४ असार २०७५, सोमबार ०९:३६

विश्वकपको दाबेदार मानिएको ब्राजिल रसिया विश्वकपको पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिएको छ ।

प्रत्यक विश्वकपमा सहभागिता जनाउँदै आएको ब्राजिल स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिएको हो । आइतबार मध्यराति रसियाको रोस्तोभ एरिनामा भएको खेलमा ब्राजिलले स्वीजरल्याण्डसँग एक–एक गोलको बराबरी खेलेको छ । हरेक विश्वकपमा सहभागिता जनाउँदै आएको ब्राजिल सन् १९७८ पछि पहिलोपटक विश्वकपको आफ्नो पहिलो खेलमा जित हात पार्न असफल भएको हो ।

पाँच पटकको च्याम्पियन ब्राजिलले खेलको पहिलो हाफमा नै अग्रता लिएको थियो । खेलको २० औं मिनेटमै फिलिप कोटिन्होको गोलमा ब्राजिलले अग्रता लिए पनि ५० औं मिनेटमा स्वीट्जरल्याण्डका स्टेभेन जुबेरले कर्नरबाट आएको बललाई हेडरमार्फत गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । खेलमा ब्राजिलले तीन अंक जित्ने प्रयास गरे पनि उसको लक्ष्यमा स्वीट्जरल्याण्डका गोलकिपर र डिफेन्डर बाधक बने ।

खेलमा ५५ प्रतिशत बल पोसेसन जमाएको ब्राजिलले कुल २१ सट प्रहार गरेको थियो । जसमा पाँचवटा सट टार्गेटमा थियो । तर कुनै पनि सफल हुन नसकेपछि अंक बाँढ्न बाध्य भएको हो । सन् २०१४ को विश्वकप फुटबलमा ब्राजिल घरेलु मैदानमै सेमिफाइनलमा जर्मनीसँग ७–१ ले पराजित भएको थियो ।
तीन पटक क्वाटरफाइनलसम्म पुगेको स्वीट्जरल्याण्डले ११ औँ पटक विश्वकप खेलेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*