बारामा पहिलोपटक राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुँदै

ए वान डेस्क
७ असार २०७५, बिहीबार २१:३४

बाराको निजगढमा शुक्रबारबाट प्रथम निजगढ राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको आयोजना हुँदैछ । प्रतियोगिता आयोजक निजगढ तेक्वान्दो डोजाङले विहिबार निजगढ स्थित कभर्ड हलमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिता बारे जानकारी दिएको हो ।

शुक्रबार र शनिवार गरि दुई दिन सञ्चालन हुने प्रतियोगितामा सातवटा प्रदेश र आयोजक गरि कुल ८ टिमको सहभागिता रहनेछ ।
पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक बसन्त लामाले विभिन्न १३ तौल समुहका विचमा प्रतिष्पर्धा हुने जानकारी दिए । ‘महिला तर्फ ६ तथा पुरुष तर्फ ७ गरि कुल १३ तौल समुहमा प्रतिष्पर्धा हुँदैछ’ लामाले भने ।

महिला तर्फ ४२, ४६, ५३, ५७, ६२ र ७३ केजी तौल समुह रहनेछन् भने पुरुष तर्फ २५, ३३, ४५, ५४, ५८, ६३ र ७४ केजी तौल समुहविच स्पर्धा हुनेछ । प्रतियोगिता संयोजक लामाका अनुसार प्रतियोगितामा सहभागि हुन ७ वटै प्रदेशका टोली निजगढ आइसकेका छन् । शुक्रबार विहान निजगढ स्थित कभर्डहलमा प्रतियोगिताको उद्घाटन हुँदैछ । तेक्वान्दोको राष्ट्रिय स्तरको प्रतियोगिता बारामा पहिलोपटक आयोजना हुन लागेको संयोजक लामाले बताए ।

निजगढ नगरपालिकाको सहयोगमा सञ्चालन हुन लागेको प्रतियोगिताको सह आयोजकमा नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिती बारा र प्रवद्र्धकमा नेपाल खेलकुद पत्रकार मञ्च बारा रहेका छन् ।

पत्रकार सम्मेलनमा नेपाल तेक्वान्दो संघका २ नम्बर प्रदेश संयोजक गुरुप्रसाद गौतम, बारा जिल्ला सदस्य चित्र लामा, प्रशिक्षक हेमलाल श्रेष्ठ, नेपाल खेलकुद पत्रकार मञ्च बाराका अध्यक्ष सुनील गाउँले लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*