वडाको योजनाप्रति वडा नम्बर ११ का स्थानीयले जनाए असन्तुष्टि

ए वान डेस्क /
आर्थीक बर्ष २०७५/०७६ को योजनाप्रति जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर ११ का स्थानीयले असन्तुष्टि जनाएका छन् । कसैलाई जानकारी नै नगराई वडा अध्यक्षले एकलौटी रुपमा वडाको योजना बनाएकोभन्दै उनीहरुले असन्तुष्टि जनाएका हुन् ।
आज बिहान वडा नम्बर ११ को खैरहवामा पत्रकार सम्मेलनको आयोजना गर्दे स्थानीयले आर्थीक बर्ष २०७५/०७६ का लागी वडा अध्यक्षले कोठे योजना तयार गरेको आरोप लगाए । वडाको योजना प्रक्रियागत रुपमा बनाउनुपर्ने उनीहरुले आफुहरुलाई वडाले पहिलेदेखि नै बिभेद गर्दे आएको बताए ।
यो भन्दा ‘अगाडी ६० लाख बजेटमा पनि खैरहवामा जम्मा ५ लाख पारियो, अहिले ९५ लाख हुदापनि बिभेद गर्ने काम गरिदैछ’ स्थानीय दिप नारायण थारुले भने । ‘हाम्रो माग भनेको वडाको योजना बनाउदा सबैसंग छलफल गर्नुपर्यो, गाउको समस्या एउटा काठामा बसेर देखिदैन्’ उनले भने । वडाको योजनाप्रति असन्तुष्टि जनाउदै खैरहवाका ४२ जना स्थानीयले निर्णय सच्चाउन पत्रकार सम्मेलनमा माग गरेका थिए ।
यता, वडा नम्बर ११ का वडा अध्यक्ष बिनोद यादवले प्रक्रिया पुरा गरेरै वडागत योजना तयार गरिएको बताउनुभयो । ए वान समाचारसंग कुरागर्दे उहाले खैरहवाका स्थानीयले विरोध गरे जस्तो वडागत योजनामा कुनै बिभेद नगरिएको बताउनुभयो । ‘हामीले ३ दिनको सुचना जारी गरेर योजना बनाएका हौ, वडाको योजना स्थानीय आफैले बनाउने हो’ उहाले भन्नुभयो ।
‘योजना बनाउदा खैरहवाबाट पनि स्थानीयले अमाडार स्कुल आएका थिए, सबैको सहमतीमा वडा नम्बर ११ को योजना बनेको हो’ उहाले थप्नुभयो । विकास निर्माणको काममा आफु सधै जनताको पक्षमा रहेकोभन्दै उहाले वडाको योजना बनाउदा सबैको चित्त बझाउन नसकिने बताउनुभयो ।