‘प्रदेश प्रहरी ऐन’ ल्याउँदै प्रदेश २ सरकार

प्रदेश २ सरकारले ‘प्रदेश प्रहरी ऐन’ को तयरी गरेको छ । संघीय प्रहरी ऐन तयार नहुँदै प्रदेश सरकारले प्रदेश प्रहरी ऐनको तयारी गरेको हो । प्रदेश सरकार मातहत प्रहरी नहुँदा प्रदेशको शान्ति सुरक्षा तथा आवश्यकता अनुसार प्रहरी खटाउन नसक्ने अवस्था रहेको भन्दै प्रदेश सरकारले तत्कालै प्रहरी ऐन ल्याउन लागेको हो ।
प्रदेशको शान्ति सुरक्षाको काम प्रदेश सरकारको काँधमा आएको भन्दै मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले तत्काल प्रदेश प्रहरी ऐन ल्याउन लागेको बताए । ‘संघीय प्रहरी ऐनको अब हामी प्रतिक्षा गरेर बस्न सक्दैनौँ’, मुख्यमन्त्री राउतले भने,‘संविधानमा प्रदेश सरकारलाई दिएको अधारलाई मानेर हामी प्रदेश प्रहरी ऐन तयारीमा लागेका छौँ’ प्रदेश सभाबाट पास गराएर लागू गर्छौँ ।’
प्रहरीका उच्च अधिकारी, कानुन विज्ञ तथा सुरक्षा निकायसँग नै पटक पटक छलफल गरि प्रदेश प्रहरी ऐन तयार गरेको राउतले बताए ।
प्रहरी ऐन प्रदेश सभा सचिवालयमा दर्ता
३१ जेठमा प्रदेश २को मन्त्रीपरिषदबाट पास भएको प्रदेश प्रहरी ऐन दुई दिन अघि प्रदेश सभा सचिवालयमा दर्ता भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सो विधेयक प्रदेश सभा सचिवालयमा दर्ता गराएका हुन् ।
अगामी १० गते बस्ने प्रदेश सभामा प्रहरी विधेयक ऐन टेबुल हुने सम्भावना रहेको प्रदेश सभा सचिवालयका प्रवक्ता तथा उपसचिव रंजित यादवले जानकारी दिए ।
यसरी आउँदै छ प्रदेश २ को प्रहरी ऐन
प्रदेश सरकारले प्रदेशको प्रहरी भर्नामा महिलालाई ५० प्रतिशत आक्षरणको व्यवस्था गरेको छ । तराई क्षेत्रका महिलाहरुलाई प्रहरी सेवामा आकर्षित गर्नका लागि ५० प्रतिशत आरक्षणको व्यवस्था गरिएको प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले बताए । प्रहरी भर्ना ऐनमा भने कुल प्रहरी संख्याको ५५ प्रतिशत खुलाबाट भर्ना लिइने व्यवस्था रहेको छ ।
त्यसैगरी प्रदेशमा करिव ७ हजारसम्म प्रहरी भर्ना गर्न सक्ने ऐनमा व्यवस्था गरिएको छ । प्रदेश सरकारले प्रहरी निरीक्षक सम्मको भर्ना गर्न सक्ने ऐनमा व्यवस्था गरिएको हो । प्रदेश लोक सेवा आयोग गठन गरि प्रदेश प्रहरी भर्ना गर्ने ऐनमा उल्लेख छ ।