निजगढको समस्या सिंहदरवारमा, निर्देशकदेखि गृहमन्त्रीसम्मको ध्यानाकर्षण

प्रदिप गौतम /
बाराको निजगढबाट काठमाण्डौ पुगेको एक टोलिले आज गृहमन्त्री रामबहादुर थापा बादलसंग भेट गरेको छ । गृहमन्त्री थापासंग भेट गर्दे टोलिले निजगढ लगायत आसपासका क्षेत्रमा देखिएको समस्याबारे ध्यानाकर्षण गराएकोे छ ।
मन्त्री थापालाई ज्ञापन पत्र बुझाउदै सो टोलिले निजगढ नगरपालिका अन्तर्गतको साविक रतनपुर क्षेत्रमा तत्काल प्रहरी चौकी स्थापना गर्न माग गरेको छ । जवाफमा मन्त्री थापाले त्यसको लागी बिशेष पहल गर्ने कुरा बताउनुभएको टोलिमा सहभागी नेकपाका युवा नेता रविराज दंगालले ए वान समाचारलाई जानकारी दिनुभयो ।
भेटमा टोलिले निजगढमा हुने अबैध गोरु व्यापार रोक्न, निजगढमा दैनिक चुरे दहन गर्दै बकैया खोलामा स्थापना गरिएका अबैध क्रसर व्यवसायलाइ अनुगमन गरि बन्द गर्न माग गरेको थियो । मन्त्री थापालाई भेट्न नेकपाका युवा नेता युवराज भट्राई समिर, रविराज दंगाल, निजगढ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष सुर्दशन कोईराला, सचिव महेश्वर अधिकारी गृहमन्त्रालय पुग्नुभएको थियो ।
टोलिले आजै निजगढमा देखिएको खानेपानी समस्याका बिषयमा खानेपानी तथा सरसफाई मन्त्री बिना मगरको ध्यानकर्षण गराएको छ । सोही अवसरमा निजगढ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष सुर्दशन कोईरालाले संस्थाको बजेट बृद्धिसहित सोलार प्लाण्टको माग गर्दै मन्त्री मगरको ध्यानाकर्षण गराउनुभयो ।
आजै संस्थाको लागी यस आर्थीक बर्षको बजेटमा अर्थ मन्त्रालयबाट रकम थपको लागी पहल गरिदिन प्रधानमन्त्रीका जनसम्र्पक सल्लाहकार अच्युत मैनालीलाई पनि टोलिले ज्ञापनपत्र बुझाएको छ ।
यसअघि आज बिहान संस्थाका लागी सोलार प्लान्ट जडानको माग गर्दै टोलिले वैकल्पिक उर्जा प्रवद्धन केन्द्र खुमलटारमा खानेपानी तथा सरसफाई उपभोक्ता केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताललाई ज्ञापनपत्र बुझाएको थियो ।