बारामा अविरल वर्षाको प्रभाव : जीतपुरसिमरामा बिजोग, दुधौराले बगायो गाडी
प्रदिप गौतम /
हिजो साझदेखि परेको अविरल वर्षाले बाराको जनजिवन नराम्रोसंग प्रभावित भएको छ । निरन्तर वर्षाले मुख्य सहर क्षेत्र र गाउमा पानी जमेर आवतजावतमा समस्या भएको छ ।
पानी जमेपछि बिहानै विद्यालय तथा कलेज जाने विद्यार्थी जान सकेका छैनन् भने पैदलयात्रीलाई अप्ठेरो भएको छ । विभिन्न सडक तथा नाली निर्माणको कार्यले ढल निकासको व्यवस्थापन नहुदा पानीको मुहान थुनिएर पानी जमेको हो ।
वर्षाले दुधौरा खोलामा पानीको सतह बढ्न थालेपछि तटीय क्षेत्रका स्थानीय बासिन्दा त्रसित बनेका छन् । वर्षाले नदीमा बाढी आउने जोखिमले स्थानीय त्रसित बनेका हुन् ।
दुधौरा खोलामा पानीको सतह बढ्दै गएको छ । दुधौरा खोलाको बाढीले गाढीसमेत बगाएको छ ।
जीतपुरसिमरामा बिजोग
वर्षाका कारण जीतपुरसिमरा उप–महानगरपालिकाभित्रको मुख्य चोक मानिने सिमरा चोक, बजार एरिया र भित्रि चोकलगायतका स्थानमा पानी जमेकाले आवतजावतमा समस्या भइरहेको छ । नालाको उचित व्यवस्थापनको अभावमा पानीको निकास नहुदा सवारीसाधन आगमनमा समस्या भइरहेको स्थानीयको भनाई छ ।
सिमराको बजार एरियामा पानी नै पानी छ । वर्षाले भित्रि सडक तथा बाटो जलमग्न र हिलाम्य भएको छ ।
सडकमै जम्छ पानि
नगरभित्र ढल तथा पानी निकासको लागि नालाको उचित व्यवस्थापन नहुदा सामान्य वर्षा हुदा पनि पानी सडकमै जम्ने गरेकाले हिलाम्य हुने गरेको छ । सडकमा पानी जमेर हिलाम्य हुदा पैदल हिडडुल गर्नसमेत कठिनाइ भएको स्थानीय सुदेश चौधरीले बताउनुभयो ।
सावधानी अपनाउन मेयरको आग्रह
जीतपुरसिमरा उप–महानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले बर्षाको समयमा सावधानी अपनाउन नगरवासीलाई आग्रह गर्नुभएको छ । भारी मनसुन वर्षाका कारण जनजीवन प्रभावित भएकोभन्दै उहाले पर्याप्त सावधानी अपनाउन आग्रह गर्नुभयो ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उहाले प्राकृतिक विपतबाट जोगिन र अरुलाई पनि जोगाउन तथा राहत एवम् पुर्नस्थापनामा जुटन सबैलाई अपिल गर्नुभयो ।
खै प्रशासन ?
बाढी र डुबानको उच्च जोखिमलाई न्यूनीकरण गर्न जिल्ला विपत् व्यवस्थापन समितिले खासै चासो दिएको देखिदैन् । जिल्ला विपत् व्यवस्थापन समितिले पुर्व तयारी नगर्दा बर्षेनी बारामा जनधनको क्षती हुने गरेको छ ।























