जीतपुरसिमरामा बर्षाको प्रभाव : अधिकासं वडा जलमग्न, ११ घर परिवार बिस्थापित

प्रदिप गौतम /
लगातरको वर्षाले जीतपुरसिमरा उप–महानगरपालिका जलमग्न भएको छ । बर्षाका कारण उप–महानगरपालिकाका अधिकासं वडा डुबानमा परेको छन् । प्राप्त जानकारी अनुसार मुख्य राजमार्ग क्षेत्र र भित्रि वडा बढी डुबानमा परेका हुन् ।
पानी परिरहेकाले स्थानीय बासिन्दा त्रसित भएपनि डुबानका कारण समस्या भने अझै नदेखिएको वडा अध्यक्षहरुले बताएका छन् । यद्धपी लगातारको बर्षाले झन्डै १ दर्जन घर परिवार बिस्थापित भएका छन् ।
अधिकासं वडा जलमग्न, ११ घर परिवार बिस्थापित
लगातारको बर्षाले वडा नम्बर १ जलमग्न भएको छ । वडा अध्यक्ष हिराबहादुर गुरुङ्गका अनुसार पथलैयाको गैरी टोलमा पानि पसेको छ । ५०० घरधुरी मध्य गैरी टोलको ३०० घरमा पानी पसेको उहाले बताउनुभयो । त्यसबाहेक अन्य स्थानमा खासै समस्या नदेखिएको उहाले बताउनुभयो ।
यता, वडा नम्बर २ मा पनि बर्षाले निकै प्रभाव पारेको छ । वडा अध्यक्ष तिलकबहादुर श्रेष्ठका अनुसार तराई यातायात व्यवसायी संघको पछाडी लगातारको बर्षाले काठे पुल भत्काएको छ ।
बर्षाले काठे पुल भत्काउदा आवात जावतमा समस्या भईरहेको उहाले बताउनुभयो । जगदम्बा पछाडी र छठिमाई मन्दिर आसपासका क्षेत्रका गाउमा पानि पसेको छ । ‘भाङ्ग्रे खोलाको पानी गाउमा यसबर्ष खासै पसेको छैन्, केहीमात्रामा भने खोलाले समस्या निम्त्याएको छ’ श्रेष्ठले भन्नुभयो । ‘हामी भाङ्ग्रे खोला नियन्त्रण अभियानमा छौ, अब हामी तटबन्धको काम अघि बढाउछौ, त्यसपछि सबै समस्या समाधान हुन्छ’ उहाले भन्नुभयो ।
यस्तै वडा नम्बर ३ मा पनि बर्षाले निकै प्रभाव पारेको वडा अध्यक्ष जगरनाथ घिमिरेले बताउनुभयो । बर्षाले रामवन जोड्ने बाटो अवरुद्ध बनाएको छ भने असोक स्टिल अगाडी गैरी टोलको २७ घरमा पानि पसेको छ । ‘जसमध्य ११ घर परिवार बिस्थापित भएका छन्, उनीहरु अहिले दालमोट र चिउराको भरमा बसेका छन्’ घिमिरेले भन्नुभयो ।
सबैभन्दा बढि क्षती गैरी टोल, बालुवा टोल, उत्तरतर्फको गाउ र वडा टोलमा पुगेको छ । घिमिरेका अनुसार भाङ्ग्रे खोलाले पनि निकै समस्या निम्त्याएको छ । ‘पहिला खोल्सो थियो, अहिले खोला भयो, त्यो खोलाको ७५ प्रतिशत पानि गाउमा आउछ’ उहाले भन्नुभयो ।
वडा नम्बर ५ मा सिर्सिया खोलामा आएको बाढीले पनि निकै समस्या निम्त्याईरहेको अध्यक्ष मोहित चौधरीले बताउनुभयो । ‘वडाको भित्रि गाउमा पानी पस्ने समस्या त छदैछ, यहा ठुलो समस्या भनेको सिर्सिया खोला हो, खोलाले जमिन कटान गर्दा ठुलो क्षती हुने गरेको छ’ उहाले भन्नुभयो ।
वडा नम्बर ११ मा पनि दुधौरा खोलामा आज बिहानैदेखि बाढी आएको छ । बाढीले प्रत्यक बर्ष जमिन कटान गर्ने गरेको छ । जसका कारण आसपासका मुसहर समुदाय त्रसीत बन्ने गरेका छन् । वडा नम्बर ११ को अमाडारस्थित मुसहरवस्तीमा पानी पसेपछि निकै समस्या भएको अध्यक्ष बिनोद यादवले बताउनुभयो ।
उता, वडा नम्बर १६ मा पनि गाउभित्र पानी पसेको छ । ‘यहा खासै ठुलो जनधनको क्ष्ँती त भएको छैन्, तरपनि गाउभित्र पानी भने पसेको छ ’ वडा अध्यक्ष केदार बजगाईले भन्नुभयो । ‘बर्षाले टाग्यिवस्तीको बाटो बिगारेको छ, त्यहा एम्बुलेन्सपनि जान सक्ने अवस्था छैन्’ उहाले भन्नुभयो ।
यता, वडा नम्बर २१ र २२ मा पनि बर्षाले सामान्य क्ष्ँती पुर्याएको छ । ‘हात्तिसार जाने ठाउ, खासगरी पुरानो वडा नम्बर ६ को ३–४ वटा घरमा पानी पसेको छ’ उहाले भन्नुभयो ।
बाढीले स्थानीय त्रसीत
जीतपुरसिमरा उप–महानगरपालिकाभित्रका बिभिन्न खोलामा आएको बाढीले स्थानीय त्रसीत बनेका छन् । लगातारको बर्षाका कारण खोलामा आएको बाढीले जनधनको क्षती पुर्याउन सक्नेभन्दै स्थानीय त्रसीत बनेका हुन् ।
उप–महानगरपाकिलाभित्र पर्ने बालगंगा, पसाह, दुधौरा र सिर्सिया खोलामा बिहानैदेखि आएको बाढीले आसपासका स्थानीय त्रसीत बनेका छन् । खासगरी दुधौरा र सिर्सिया खोलामा आएको बाढीले जमिन कटान गर्न थालेपछि आसपासका स्थानीय बिहानैदेखि त्रासमा बस्न बाध्य भएका छन्् ।
दुधौरा र सिर्सिया खोलामा आउने बाढीले बर्षेनी जनधनको क्षती हुने गरेको छ ।