मजदुरको न्यूनतम पारिश्रमिक १३ हजार रुपैयाँभन्दा माथि

ए वान डेस्क
२५ असार २०७५, सोमबार १९:२०

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मजदुरको न्यूनतम पारिश्रमिक तोकेको छ ।

मन्त्रालय, न्यूनतम पारिश्रमिक निर्धारण समिति, ट्रेड युनियनहरु र रोजगारदाता उद्योगीहरुबीच सहमति भएपछि मन्त्रालयले मजदुरको मासिक न्यूनतम तलब १३ हजार ४ सय ५० रुपैयाँ कायम गरेको हो । तर यो निर्णयमा नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियन कंग्रेसले भने असहमति जनाएको छ । तर कंग्रेसबाहेक अरु ट्रेड युनियन, उद्योगी र न्यूनतम पारिश्रमिक निर्धारण समितिबीच न्यूनतम तलब १३ हजार ४ सय ५० रुपैयाँ पु¥याउने सहमति भएपछि मन्त्रालयले पनि सहमति गरेको हो ।

अहिले मजदुरको न्यूनतम तलब ९ हजार ७ सय रुपैयाँ रहेकोमा ३९ प्रतिशत भन्दा धेरैले बढाएर १३ हजार ४ सय ५० रुपैयाँ पुर्‍याइएको छ । मजदुरको तलब यति धेरै अनुपातमा बढेको यो पहिलो पटक हो । बढेको तलबबाट १० प्रतिशत सञ्चयकोष, ८ दशमलब ३३ प्रतिशत उपदान, र १ दशमलब ६७ प्रतिशत सामाजिक सुरक्षा कोषमा जम्मा हुनेछ । बढेको तलबमा चाडपर्व खर्च, बिदा वापतको भुक्तानी, सुत्केरी भत्ता, बीमालगायतका योजना नजोडिएकोले अब मजदुरको न्यूनतम तलब १५ हजार रुपैयाँभन्दा माथि पुगेको छ ।

बढेको तलबमा ट्रेड युनियन कांग्रेसले असहमति जनाए पनि सत्तारुढ दल सम्बद्ध ट्रेड युनियनले भने सहमति जनाएका छन् ।

यो तलबमा सबैजसो उद्योगका छाता संगठनले पनि सहमति जनाएका छन् । मन्त्रालयमा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका संस्थाले उद्योगहरुको अवस्था राम्रो नभए पनि न्यूनतम पारिश्रमिक लागु गर्ने जनाएका छन् ।

कार्यक्रममा श्रममन्त्री गोकर्ण विष्टले अब साउन १ गतेदेखि नै नयाँ तलब लागू हुने र सबै मजदुरको तलव बैंक खातामा जाने भएकाले कुनै पनि उद्योगले मजदुर ठग्न वा न्यूनतम भन्दा तल तलब दिन नपाउने बताउनुभयो ।

दैनिक ज्याला ५ सय १७ रुपैयाँ
यस्तै न्यूनतम पारिश्रमिक निर्धारण समितिले मजदुरको न्युनतम दैनिक ज्याला पाँच सय १७ रुपैयाँ निर्धारण गरेको छ । अब कुनै पनि क्षेत्रमा काम गर्ने मजदुरले दैनिक ५ सय १७ रुपैयाँ ज्याला पाउनेछन् । यस्तै घन्टाको आधारमा काम गर्ने मजदुरले प्रतिघन्टा ६९ रुपैयाँ ज्याला पाउनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*