सिमरामा एन्फा अन्तर कप विद्यालय फूटवल प्रतियोगिता सुरु

बाराको सिमरामा एन्फा अन्तर कप विद्यालय छात्रछात्रा राष्ट्रिय फूटवल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सोमबार नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सिमरा र रतनपुर माध्यमिक विद्यालय बिजयी भएका छन् ।
सिमरा रंगशालामा भएको पहिलो खेलमा सिमराले नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाई २–० ले पराजित गरेको हो भने दोस्रो खेलमा रतनपुरले लोटस एकेडेमीलाई २–१ ले पाखा लगाएको हो । सिमराको जीतमा अमन तामाङ थिङ र सुनिल गुप्ता समान १/१ गोल गरे ।
यसैगरी रतनपुरको जीतमा सुभाष चौधरीले दुई गोल गरे । लोटसका लागि बरदिन पण्डितले सान्त्वना एक गोल गरे । जीतसंगै सिमरा र रतनपुर प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेका छन् ।
यसअघि प्रतियोगिताको उद्घाटन बारा जिल्ला फूटवल संघका अध्यक्ष एम समिउल्लाहले गरेका थिए । प्रतियोगिता अन्तर्गत मंगलवार चार खेल हुदैछन् । सिमरा रंगशालामा हुने पहिलो खेलमा ब्राईटर एकेडेमी सिमरा र मनी माध्यमिक बिद्यालय थस्कौल, दोस्रो खेलमा सेन्ट पिटर्स एकेडेमी सिमरा र राष्ट्रिय बिभुती सामुदायिक शिक्षा सदन डुमरवाना, तेस्रो खेलमा माउन्ट एभरेष्ट सिमरा र सफल होराईजन बडहर्वा र चौथो खेलमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, जैतापुर र सिमरा पब्लीक बोर्डिङ स्कुलबीच खेल प्रतियोगिता संयोजक एवम् बारा जिल्ला फूटवल संघका बरिष्ठ उपाध्यक्ष रामचन्द्र लामाले जानकारी दिएका छन् ।
प्रतियोगितामा बाराका १६ विद्यालयको सहभागिता छ । प्रतियोगिताको बिजेता विद्यालय प्रदेश स्तरीय प्रतियोगिताको लागि छनौट हुनेछ ।