बाराका अंकितकुमारको अपहरणपछि हत्या, कहा चुक्यो प्रहरी ?

झण्डै डेढ महीनाअघि बाराको जीतपुर सिमरा उपमहानगरपालिका–७ निवासी ललनप्रसाद साहका नौ वर्षीय छोरा अंकितकुमारको अपहरणपछि हत्या भएको बारा प्रहरीले पुष्टि गरेको छ ।
भारत बिहारको सिकटा बलसरबाट पक्राउ परेका अजय पटेलको बयान तथा अपहृत अंकितजस्तै अनुहार भएको सोमबार एक बालकको शव सडेगलेको अवस्थामा भेटिएपछि उनको हत्या भएको जानकारी जिल्ला प्रहरी कार्यालय बाराले दिएको छ ।
गएको जेठ २२ गते अपहरणमा परेका अंकितको शव पश्चिमी पर्साको जगरनाथपुर गाउँस्थित गण्डक नहरमा बोरामा राखिएको अवस्थामा फेला परेको पुष्टि बाराका प्रहरी नायव उपरीक्षक रञ्जितसिंह राठौरले बताउनुभयो ।
शव सडेगलेको र पूर्णरुपमा निकाल्न नसकिने अवस्थामा रहेकाले डीएनए परीक्षणका लागि शव गाडिएको स्थानबाट हाड र दाँत मात्र निकालिएको बारा प्रहरीले जनाएको छ ।
वीरगञ्ज रानीघाट बस्ने रामप्रवेश साह पक्रउ परेपछि उनकै बयानका आधारमा शव गण्डक नदीबाट फेला पारिएको थियो । पक्राउ परेका अजय र रामप्रवेशमाथि बारा प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दा चलाउने तयारी गरिरहेको प्रहरी स्रोतले जनाएको छ ।
अपहरणकारीले बालकका परिवारजनसँग भारतको बेतिया शहरमा १५ लाख भारतीय रुपैयाँ फिरौतीवापत बुझेको थियो । अपहृत बालकको आकार र बनोटका आधारमा शव पहिचान गरिए पनि डीएनए परीक्षण प्रतिवेदनपछि मात्र पूर्ण रुपमा शव यकिन गर्न सकिने प्रहरीको भनाइ छ ।
यता जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख डा कृष्ण पौडेलले भन्नुभयो, ‘अपहरण काण्डमा प्रहरीको भूमिका सन्तोषजनक नदेखिएको र पर्सा तथा बारा प्रहरीबीच समन्वयको अभावको कारण यस्तो घटना भएको हो ।’