पथलैयादेखि अमलेखगञ्जसम्म पाँच हजार हरियो रुख काट्नुपर्ने

पर्सा राष्ट्रिय निकुञ्जभित्रको पाँच हजार हरियो तथा वयस्क रुख काटनुपर्ने भएको छ । बारा जिल्लाको पथलैयादेखि अमलेखगञ्जसम्म आठ किलोमिटर पाइप लाइन विस्तार गर्दा बीचमा पर्ने निकुञ्जभित्रको पाँच हजार हरियो तथा वयस्क रुख काटनुपर्ने बताइएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार सो पाइप लाइन अमलेखगञ्जसम्म विस्तार गर्दा निकुञ्जभित्रका करीब पाँच हजार हरियो तथा वयस्क रुख काट्नुपर्ने बताउनुभयो । उहाँले यसको लागि सङ्घीय सरकारले स्वीकृति दिइसकेकाले वन तथा वातावरण मन्त्रालयले वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदनबारे स्वीकृति दिएपछि रुख काटने प्रक्रिया अघि बढ्ने बताउनुभयो ।
रु २७५ करोडको लागतमा निर्माण भइरहेको सो पाइप लाइन निर्माणको लागि भारत सरकारको रु २०० करोड तथा नेपाल सरकारको रु ७५ करोड लगानी रहेको सो कार्यालयले जनाएको छ । प्रतिघण्टा दुई लाख लिटर पेट्रोलियम पदार्थ भित्रिने र भण्डारणको लागि अमलेखगञ्ज डिपोमा तीन हजार ९०० किलोलिटर तथा चार हजार १०० लिटर क्षमताको चार वटा ट्याङ्कर निर्माण भइरहेको छ ।