जीतपुरसिमरामा शुरु भयो मालपोत र नापि कार्यालयको काम
ए वान डेस्क /
जीतपुरसिमरा उप–महानगरपालिकामा आजदेखि मालपोत र नापि कार्यालयको काम शुरु भएको छ । निकै लामो सर्घष र आन्दोलनपछि सिमरा आएको मालपोत र नापि कार्यालयको काम आजदेखि शुरु भएको हो ।
सरकारले २०७१ साल असोज ३० गते सिमरासहित देशका बिभिन्न २२ स्थानमा मालपोत र नापि कार्यालयको सेवा केन्द्र थप गर्ने निर्णय गरेको थियो । सरकारले निर्णय गरेको ४ बर्षपछि वडा नम्बर ३ स्थित बजनीमा आजदेखि मालपोत र नापि कार्यालयको काम शुरु भएको हो ।
मालपोत र नापि कार्यालयको काम शुरु भएपछि सेवाग्राही निकै हर्षित देखिएका छन् । मालपोत र नापि कार्यालयमा काम गराउन आएका सेवाग्राहीले अबदेखि सदरमुकाम धाउनुपर्ने बाध्यता हटेकोभन्दै खुशि व्यक्त गरे ।
मालपोत कार्यालय सिमराका प्रमुख मदन प्रसाद गुप्ताले कार्यालयको काम आजदेखि शुरु गरिएको बताउनुभयो । नापि कार्यालय सिमराका प्रमुख क्रान्ति शाहले सेवा धेरैदिन बन्द गर्दा समस्या भएकोभन्दै आजदेखि काम शुरु गरिएको जानकारी दिनुभयो । यद्धपी साहले आजदेखि कित्ताकाटको काम भने शुरु गर्न नसकिएको बताउनुभयो ।
‘हामीले आजदेखि काम शुरु गरेका छौ, तर प्राविधिकको अभावले हामीले कित्ता काटको काम शुरु गर्न सकेका छैनौ’ उहाले भन्नुभयो । कित्ताकाटको काम कहिलेदेखि शुरु हुन्छ ? भन्ने ए वान समाचारको प्रश्नमा उहाले सोमबारदेखि काम शुरु गर्ने बताउनुभयो ।
सेवाग्राहीको भिड
मालपोत र नापि कार्यालयको काम आजदेखि शुरु भएसंगै सेवाग्राहीको भिड लाग्न थालेको छ । ‘सेवाग्राहीको आज अत्याधिक भिड छ, कर्मचारीले नभ्याएर म आफै पनि कर्मचारीलाई सघाईरहेको छु’ नापि कार्यालय सिमराका प्रमुख क्रान्ति साहले भन्नुभयो ।
मालपोत र नापि कार्यालयबाट अब उत्तरी क्षेत्रको साविकका पिपरासिमरा, भवानीपुर जितपुर, डुमरवाना, फत्तेपुर, छातापिपरा, लिपनीमाल, रामपुरटोकनी, ईनर्वासिरा, बुनियाद, मनहर्वा, निजगढ र रातोमाटेका नागरिकले सेवा लिन सक्नेछन् ।