बारामा रक्षाबन्धनको रौनक, बजारमा रङ्गीबिरङ्गी सामाग्री

शिवराज अधिकारी /
बारामा यतिबेला राखी अर्थात रक्षाबन्धन पर्वको रौनक छ । रक्षाबन्धनको अघिल्लो दिन आज बाराका बजारमा रक्षाबन्धनका रङ्गीबिरङ्गी सामाग्री जताततै देख्न सकिन्छ ।
तिथि अनुसार भोलि धुमधामका साथ राखि अर्थात रक्षाबन्धन पर्व देशैभर मनाउने तयारी गरिएको छ । यतिबेला सिमरा, जीतपुर, निजगढ, परवानीपुर, कलैयासहित बाराका भित्रि बस्तीमा समेत रङ्गीबिरङ्गी रक्षाबन्धन बेच्न राखिएका छन् भने विवाह भएर गएका चेलीहरु मोबाइल फोन र सञ्चारका अन्य साधनबाट आफ्ना दाजुभाइ कहा छन् भन्ने पत्ता लगाएर राखी बाध्न आउने निम्ता दिन व्यस्त देखिन्छन् ।
त्यसैगरी अविवाहित चेली पनि कामविशेषले घर बाहिर रहेका दाजुभाइलाई सम्झँदै पूर्णिमाका दिन राखी बाध्न आउने निम्ता दिनमा तल्लीन छन् । दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम, समर्पण र आपसी सम्बन्ध कहिल्यै नटुट्ने प्रतिबद्धता जनाइने यो पर्व महान् साँस्कृतिक पर्व रहेको जानकारहरु बताउछन् ।
बजारहाटमा आ–आफ्ना दाजुभाइलाई बाँधिने राखी छान्न बजारमा महिलाहरुको चहलपहल ह्वात्तै बढेको छ । पर्वविशेषमा दाजुभाइ, दिदीबहिनीका लागि राखीको कारोवार गर्ने व्यापारी उत्तिकै व्यस्त देखिन्छन् ।
अघि सत्ययुगमा तीनै लोक (स्वर्ग, मत्र्य र पाताल)को अधिपति दानवराज बलिलाई उनका बहिनी गङ्गा र यमुनाले युद्धमा जानुअघि विजयको कामना गर्दै हातमा रक्षाबन्धन बाँधिदिएको र युद्धमा बलिको जीत भएको सम्झनामा प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै राखी बाँधी दिने परम्परा बसेको जनविश्वास छ ।