छ्या ! जीतपुरको तरकारी बजार कस्तो फोहोर, व्यापारी भन्छन : खै त सुविधा ?

प्रदिप गौतम /
जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर ७ मा पर्ने जीतपुरको तरकारी बजार पछिल्लो समय कुरुप बन्दै गएको छ । अस्तव्यस्त व्यवस्थापनबिच दैनिक जसो फोहोरको उचित व्यवस्थापन नहुदा तरकारी बजार पछिल्लो समय कुरुप बन्दै गएको हो ।
फोहोरको उचित व्यवस्थापन नहुदा जीतपुरको तरकारी बजारमा दुर्गन्ध बढ्दै गएको छ । जसका कारण बजार पुग्ने उपभोक्ता मुख छोपेर तरकारी किन्न बाध्य भएका छन् ।
बाराको ब्यापारीक केन्द्र मानिने जीतपुरको तरकारी बजार व्यवस्थापनमा अहिलेसम्म पनि कसैले चासो दिएको देखिदैन् । यद्धपी स्थानीय सरकार आईसकेपछि भने तरकारी बजार व्यवस्थापनमा जनप्रतिनिधिले ध्यान दिन थालेका छन् । तरपनि बिशेष योजनाका साथ तरकारी बजारको उचित व्यवस्थापन नगर्ने हो भने जनप्रतिनिधिको चासो व्यर्थ हुने व्यापारीहरुको भनाई छ ।
तरकारी बजारमा एउटा स्टल राखे बापत व्यपारीहरुले दैनिक २५ रुपैया कर तिर्दै आएका छन् । यसअघि उनीहरुले २० रुपैया कर तिर्थे ।
‘अहिले दैनिक रुपमा हामी पैसा तिर्छौ, तर खै त सेवा सुविधा ?’ एक जना व्यवसायीले प्रश्न गर्दे भन्नुभयो ‘पुरै घाम आउछ, पानी आयो भने त यहा निकै समस्या हुन्छ’ । ‘यहा आउने उपभोक्ता सधै हामीसंग गुनासो गर्छन्, समितिले पनि खासै चासो दिएको छैन्’ व्यापारी दिलिप कुमारले भन्नुभयो ।
अव्यवस्थित तरकारी बजारलाई व्यवस्थित बनाउने बिषयमा वडासंगै उप–महानगरपालिकाले बिशेष ध्यान दिनुपर्ने जीतपुरका मंजित अर्यालले बताउनुभयो । ‘मैले यो समस्या देखेको बर्षौ भईसक्यो, तर अहिलेसम्म पनि यो तरकारी बजारलाई व्यवस्थित गर्ने बारे कसैलेपनि चासो दिएका छैनन्’ उहाले भन्नुभयो । ‘यो सबैभन्दा ठुलो बजार हो जस्तो मलाई लाग्छ, त्यसकारण नगरपालिकाले यसलाई सधै सफा राख्नुपर्छ’ उहाले भन्नुभयो ।
यता, तरकारी बजार व्यवस्थापन समितिका अध्यक्ष परमानन्द प्रसाद कुशुवाहाले आफुले पटक पटक फोहोर व्यवस्थापन गर्ने बिषयमा उप–महानगरपालिकाको ध्यानाकषर्ण गराएपनि खासै चासो नदेखाएको बताउनुभयो । ‘अब उप–महानगरपालिका भईसक्यो, दैनिक फोहोर उठाउनुपर्छ’ उहाले भन्नुभयो ।
हामीले यस बिषयमा वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु गुप्तासंग कुराकानी गर्न खोजेपनि उहाको फोन लागेन् ।