जनकपुर – जयनगर रेल सेवा : आधा बाटोमा आइपुग्यो रेल

ए वान डेस्क
२६ भाद्र २०७५, मंगलवार १३:१६

जनकपुर – जयनगर ब्रोडगेज रेल २० दिनभित्र जनकपुर आइपुग्ने भएको छ । पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर सञ्चालन हुने रेलको लिक परीक्षणको आधा काम सकिएको छ । निर्माणाधीन रेल्वे लिगमा भारतीय इन्जिनसहितको रेल बोगी साढे १७ किलोमिटर गुडाएर परीक्षण गरिसकेको नेपाल रेल विभाग साइट कार्यालय जनकपुरका इञ्जिनियर विनोदकुमार ओझाले बताउनुभयो ।

रेल निर्माणको ठेक्का पाएको भारतीय इकन इन्टरनेसनल कम्पनीले आउँदो पुस महिनादेखि जनकपुर जयनगर रेलसेवा सञ्चालन गर्ने गरी लिक परीक्षणको साथै अरु बाँकी अन्तिम चरणका कामहरु धमाधम गरिरहेको जनाएको छ । लिग परीक्षण अन्तर्गत पहिलो चरणमा गएको साउन २३ सम्म भारतको जयनगरदेखि धनुषाको खजुरीसम्म साढे ८ किलोमिटर भारतीय इन्जिनसहितको ५३ वटा रेल बोगी गुडाएर सफल परीक्षण गरिएको थियो ।

त्यस्तै दोश्रो चरणमा ९ किलोमिटर बोगीसहितको रेल धनुषाको खजुरीदेखि दुहवीसम्म परीक्षण गरिएको छ । परीक्षण गर्ने रेल शनिबार धनुषाको दुहवी आईपुगेको ईञ्जिनियर ओझाले जानकारी दिनुभयो । पहिलो चरणमा हुने जयनगरदेखि जनकपुरको कुर्थासम्मको रेल सञ्चालनको ३५ किलोमिटरमध्ये आधा अर्थात साढे १७ किलोमिटर लिकको सफल परीक्षण सकिएको छ । अव मात्र आधा अर्थात साढे १७ किलोमिटर लिक परीक्षण गर्न बाँकी छ ।

परीक्षण गर्ने रेलको बोगीमा रेल्वे ट्रयाकमा हाल्ने कालो गिट्टी जयनगरबाट ल्याउने काम पनि भइरहेको छ । रेल्वेबाट सबै बोगीमा ५, ६ पटक ट्रयाकमा हाल्ने कालोगिट्टी ल्याई बिछ्याउने काम पनि भैरहेको ओझाले बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिलेकै गतिमा काम भयो भने २० दिन भित्र परीक्षण गर्ने ५६ वटा बोगी सहितको रेल जनकपुरको कुर्था आइपुग्ने निश्चित छ ।’

विगत ५ वर्षदेखि बन्द रहेको जनकपुर–जयनगर रेलसेवा पुसदेखि सञ्चालनमा ल्याउने तयारी छ । जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३५ किलोमिटरको लिकमा रेल सञ्चालन हुनेछ । जनकपुर जयनगर रेल्वे सञ्चालनको लागि लिगमा वेल्डिङ गर्ने काम पनि अन्तिम चारणमा पुगेको छ ।

जयनगरदेखि बर्दिवाससम्म ६९ किलोमिटर लम्बाइको रेल्वे मार्ग ३ खण्डमा बनिरहेको छ । परियोजनाको प्रथम चरणमा जयनगर–कुर्था ३५ किलोमिटर, दोस्रो चरण अन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटर र तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिवाससम्म १७ किलोमिटर खण्डमा रेल्वे सेवा सञ्चालन हुने छ ।

यस अन्तर्गत पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल्वे सेवा सञ्चालनको काम अन्तिम चरणमा पुगेको छ भने दोस्रो चरणमा हुने सञ्चालन हुने जनकपुरको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटरमा लिग निर्माणको काम चलिरहेको छ । तेश्रो चरणमा हुने भंगहादेखि बर्दिवास १७ किलोमिटर रेल्वे सञ्चालनको लागि जग्गा अधिग्रहणको विवादले काममा ढिलाई भइरहेको छ । तर जग्गा अधिग्रहणको काम पनि अगाडि बढेकाले तेश्रो चरणको काम पनि चाँडै सुरु हुने ईञ्जिनियर ओझाको भनाई छ ।

‘जनकपुर जयनगर रेल्वे सेवा सञ्चालन भएको ६ महिना भित्र दोस्रो चरणमा कुर्थादेखि भंगहासम्म रेल सेवा सञ्चालन हुन्छ’ ओझाले भन्नुभयो ‘तर तेश्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिवाससम्म सञ्चालन हुने रेल्वे सेवाको काम प्रभावित भएको छ । त्यसको लागि पनि त्यस लिकमा पर्ने जग्गा अधिग्रहणको काम भइरहेको छ । ’

भारतको जयनगर–जनकपुर तथा जनकपुरदेखि महोत्तरीको बिजुलपुरा हुँदै बर्दिवाससम्म ६९ किलोमिटर पर्छ । जसमध्ये जयनगरदेखि नेपाली सीमा इनरुवासम्म ३ किलोमिटर भारतीय भूमि रहेको छ । सम्झौता अनुसार जनकपुरदेखि बिजुलपुरासम्म रेल सेवा २०१६ मेसम्म सञ्चालन गर्नुपर्ने थियो । तर, आन्तरिक तथा बाह्य कारणले झण्डै अढाई वर्ष ढिलो गरी रेल सेवा सञ्चालन हुने भएको हो ।

भारतसँग भाडामा लिएर गुड्छ रेल

जनकपुर जयनगर रेल्वे लिक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आउँदो पुस महिनादेखि रेल सेवा सञ्चालन हुने पनि करिब करिब निश्चित जस्तै छ । तर नेपालसँग आफ्नो रेल छैन भने रेल सञ्जाल निर्माण, रेल खरिदलगायतको काम पनि बाँकी नै रहेको छ । जनकपुर–जयनगर रेल्वे पुन: सञ्चालन र निर्माणका लागि पुरै भारतको भर पर्नुपरेको छ ।

नेपाल रेल विभाग साइट कार्यालय जनकपुरका इन्जिनियर विनोदकुमार ओझाका अनुुसार तत्कालै रेल र इञ्जिन किन्न सम्भव छैन । ‘रेल इञ्जिन तथा बोगी निर्माण गर्ने कम्पनीले एक–डेढ वर्षमा मात्र इञ्जिन तथा बोगी निर्माण गर्न सक्छन्’, उहाँले भन्नुभयो ‘त्यसैले निर्माण कम्पनीलाई पहिला नै अर्डर दिनुपर्छ । तर जे भए पनि आउँदो पुसदेखि भाडामै लिएर भए पनि रेल सेवा सञ्चालन हुन्छ ।’

रेल विभागमा रेल इञ्जिन र बोगी लिजमै लिएर भए पनि सञ्चालनमा ल्याउने छलफल चलिरहेको ओझाले बताउनुभयो । उहाँले भन्नुभयो ‘ रेल्वे ट्रयाक बनिसकेपछि जसरी पनि रेल गुड्छ । यसमा दुईमत छैन ।’

वि.स. १९९४ सालमा जनकपुर–जयनगर रेल सेवा सुरु भएको थियो । अंग्रेजहरुले नेपालबाट काठ ढुवानी गर्न भारतको जयनगरदेखि बिजलपुरासम्म रेल चलाएका थिए । पछि जनकपुरदेखि जयनगरसम्म मात्र रेल्वे सेवा सीमित भयो । पूर्वी क्षेत्रका बासिन्दाका लागि एक मात्र यातायातको साधनको रुपमा रहेको जनकपुर जयनगर रेल्वे सेवा बन्द भएपछि धनुषाको पूर्वी भेगका बासिन्दा प्रभावित बनेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*