बारामा दोश्रो खाना महोत्सव हुने, साईकीलीङ्गको तयारी

होटल तथा पर्यटन व्यवसायी संघ बाराको पहिलो बैठक सम्पन्न भएको छ । सिमरास्थित संघको आफ्नै कार्यालयमा सम्पन्न संघको पहिलो बैठकले बिभिन्न निर्णय गरेको छ ।
अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा सम्पन्न संघको पहिलो बैठकले सल्लाहकारहरु नियुक्त गरेको छ । निर्णय अनुसार संघ बाराको सल्लाहकारमा सोभाकर पराजुली, युवराज लामा, राजन पौडेल र ईच्छा बहादुर वाग्ले चयन हुनुभएको छ । यस्तै बैठकले अधिवक्ता दामोदर पौडेललाई कानुनी सल्लाहकार बनाउने निर्णय गरेको छ ।
बैठकले उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले आयोजना गर्न लागेको समृद्धी नाम कार्यक्रम सहजीकरण गर्ने निर्णय गरेको छ । जसमा ४०/४० जना वेटर र वेर्टसको लागी तालिम दिईनेछ ।
बैठकले पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले साईकीलीङ्ग गर्ने निर्णय गरेको छ । सो साईकीलीङ्ग सिमरा र निजगढबाट सुरु गरी पथलैया आधाभार हुदै अमलेखगञ्जको हातीसारमा पुगी अन्तरकृया गरिने संघ बाराका सञ्चार संयोजक प्रदिप गौतमले जानकारी दिनुभयो ।
बैठकले होटल व्यवसायी संघ बाराको नाम संसोधन गरी होटल तथा पर्यटन व्यवसायी संघ राख्ने गरी जिल्ला प्रशासन कार्यालय बाराबाट स्वीकृती लिने निर्णय गरेको छ ।
यस्तै बैठकले नेपालीहरुको महानपर्व विजयादशमी तथा शुभदिपावलीको पुर्व संध्यामा दोश्रो खाना महोत्सव गर्ने निर्णय गरेको छ । जसको लागी अर्को बैठकबाट मुल समारोह समिति गठन गर्ने निर्णय भएको छ ।