जीतपुरमा प्रसुती सेवा केन्द्रको उद्घाटन

जीतपुरसिमरा उपमहानगरपालिकाले जीतपुरमा प्रसुती सेवा केन्द्र (बर्थिङ सेन्टर) सुरुवात गरेको छ । गर्भवती महिलालाई सेवा दिने उदेश्यले उपमहानगरपालिकाले वडा नं. ७ स्थित जीतपुरमा सेवा सुरुवात गरेको हो ।
करिब ६ लाखको लागतमा सञ्चालनमा आउन लागेको प्रसुती केन्द्रको उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले उद्घाटन गरेका छन् । प्रसुती सेवाको उद्घाटन गर्दै मेयर डा. पौडेलले अति संवेदनशील प्रसुती सेवालाई सहज बनाउनका लागि उपमहानगरपालिकाले जीतपुरलाई केन्द्र बनाएर सेवा सुरु गरेको बताए ।
दक्ष जनशिक्तका साथ सुरु गरिएको प्रसुती केन्द्रबाट गर्भवती जाच, परामर्शसहित प्रसुतीका सेवा प्रदान गरिने मेयर डा. पौडेलको भनाई छ । स्वास्थ्य क्षेत्रमा जनताको पहुच सहज बनाउनका लागि उपमहानगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढिरहेको मेयर डा. पौडेलले बताएका छन् । मेयर डा. पौडेलले प्रसुती सेवासहित जीतपुरमा सर्पदंश केन्द्र सञ्चालनको नजिक रहेको बताए ।
कार्यक्रममा उपमेयर सरस्वती चौधरीले उपचारको अभावमा ज्याननै गुमाउनु पर्ने अवस्था अन्त्य गर्नका लागि उपमहानगरपालिकाले प्रसुती सेवा सुरुवात गरेको बताईन् । उनले स्वास्थ्य क्षेत्रको सुधार र स्तरोन्नतीको लागि उपमहानगरपालिका गम्भिर भएर अघि बढिरहेको बताईन् ।
कार्यक्रममा साविकको भवानीपुर जीतपुर गाविसका पूर्वअध्यक्ष कृष्णब्रतसिंह, वडा नम्बर ७ का अध्यक्ष रामबाबु गुप्ता, सदस्य दुर्गा रिजाललगायतले मन्तब्य राखेका थिए । वडाअध्यक्ष गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रञ्जन यादवले गरेका थिए ।
कार्यक्रममा स्थानिय समाजसेवी शिवजी सोनार, रामबाबु कलवार, गणेशप्रसाद साह, प्रसुती सेवा सञ्चालन समिति अध्यक्ष दुर्गा रिजाल, उपमहानगरपालिकाका स्वास्थ्य शाखा संयोजक कौशिलेन्द्र मिश्रलगायतको उपस्थिती रहेको थियो ।
उपमहानगरपालिकाको प्रथम नगर सभाले जीतपुरसहित जैतापुर, अमलेखगञ्ज र ईनर्वासिरामा प्रसुती केन्द्र सुरु गर्ने निर्णय गरेको थियो । यसअघि जैतापुरमा प्रसुती सेवा सञ्चालन भईसकेको छ भने ईनर्वासिरा र अमलेखगञ्जमा सञ्चालन हुने तयारीमा रहेको छ ।