चितवनमा मोटरसाईकल दुर्घटना, बाराका एक युवकको मृत्यु

चितवनको कालिका नगरपालिका वडा नं ५ स्थित खगेरी पुल नजिक भएको मोटरसाइकल दुर्घटनामा आज एक जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।
भरतपुरबाट पदमपुरतर्फ जाने भित्री सडकखण्डमा ना४२प ७५९० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउदै गरेको ना३५प ६४७३ स्कुटर एकआपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो । दुर्घटनामा परी ना४२प ७५९० नंको मोटरसाइकल पछाडि बस्ने बाराको कलैया उप–महानगरपालिका–५ का २२ वर्षीय सोनु गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उनको उपचारका क्रममा साँझ ७ बजेर पाच मिनेटको समयमा चितवन कलेज अफ मेडिकल साइन्समा मृत्यु भएको हो । उक्त मोटरसाइकलका चालक भरतपुर–३ का २३ वर्षीय अमितकुमार गुप्ताको सोही कलेजमा उपचार भइरहेको छ ।
दुर्घटनामा स्कुटी चालक भरतपुर– १५ की २५ वर्षीया नीलम गुरुङ र पछाडि बस्ने उनकी छोरी नौ वर्षीया प्रसन्ना गुरुङ घाइतेसमेत भएका छन् । उनीहरुको भने भरतपुर अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ ।