रेलको उद्घाटन गर्न भारतीय प्रधानमन्त्री मोदी जनकपुर आउने

ए वान डेस्क
१० आश्विन २०७५, बुधबार ०६:५३

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर–जयनगर रेल्वे सेवा उद्घाटन गर्न जनकपुर आउने हुनुभएको छ । पाँचौँ पटक नेपाल भ्रमणमा आउन लागेका मोदी दोश्रो पटक जनकपुर आउने कार्यक्रम तय भएको हो ।

यसअघि गएको वैशाख २८ गते उहाँ जनकपुर भ्रमणमा आउनु भएको थियो । भारत सरकारको सहयोगमा मंसिरबाट सञ्चालन हुने जनकपुर–जयनगर रेल सेवाको उद्घाटन गर्न मोदी जनकपुर आउन लाग्नुभएको हो । सम्भवतः जयनगरबाट जनकपुरका लागि छुट्ने रेलबाटै उहाँ जनकपुर आउने बताइएको छ ।

भारतको मध्यप्रदेश, छत्तीसगढ, राजस्थान, मिजोरम र तेलंगानामा चुनावी माहोल बढिरहेको समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउन लागेको हुनाले उहाँको भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

भारतमा चुनावको माहोल बढिरहेकाले ‘हिन्दू कार्ड’ प्रयोग गर्न मोदीले नेपाल भ्रमणलाई रोजेको चर्चा भइरहेको छ । भारतीय न्यूज एजेन्सी एएनआईका अनुसार राजकीय भ्रमणका लागि नेपाल आउन लागेका मोदी विवाहपञ्चमीको अवसर पारेर मंसिर १२ अथवा १३ गते आउने कार्यक्रम रहेको छ ।

त्रेता युगमा राम र सीताको विवाह भएको स्मरणमा जनकपुरमा धुमधामसँग विवाहपञ्चमी महोत्सव मनाइन्छ । मंसिर १२ गते विवाहपञ्चमीसमेत परेकाले त्यही अवसरमा भारतीय प्रधानमन्त्री मोदीले जनकपुर–जयनगर रेल्वे सेवाको समेत उद्घाटन गर्ने जनाइएको छ ।

यससँगै मोदीले भगवान बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण समेत गर्ने श्रोतले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*