दशैंको फलफूल बजार : थोकमा सस्तो, खुद्रामा छोइनसक्नु

दशैंमा फलफूलको विशेष महत्व हुन्छ । कोसेली लैजानदेखि पूजाआजा र खानपिनमा फलफूलको प्रयोग हुन्छ ।
दशैंमा यसको ब्यापार अन्य समयकोभन्दा ७ गुणासम्म बढी हुने गरेको नेपाल फलफूल थोक व्यवसायी संघका केन्द्रीय कोषाध्यक्ष काशिराम सापकोटा बताउँछन् ।
यो समयमा शाकाहारी भोजन गर्नेहरुका लागि फलफूल उत्तिकै महत्वपूर्ण मानिन्छ ।
अहिले बजार क्षेत्र तथा, चोक-चोकमा रहेका फलफूल पसलदेखि घर-घरमा फलफूल पुर्याउने ब्यापारीको किन्नेहरुको भीड लागेको देखिन्छ ।
तर, थोक बजारकोभन्दा यस्ता खुद्रा पसल र ब्यापारीकोमा फलफूलको भाउ उच्च छ । दशैंमा स्याउ, केरा, नरिवल, मौसम र सुन्तला धेरै प्रयोग र किनबेच हुने फलफूल हुन् ।
फलफूलको बजार मूल्य सबै ठाउँमा एकनाश छैन । त्यसैले एउटै प्रजातिका फलफूल किन्दा उपभोक्ताहरुले फरक-फरक मूल्य तिर्न बाध्य छन् ।
व्यवसायी संघले थोक बजारमा पनि खुद्रा किन्न सकिने गरी अघोषित किसिमको व्यवस्था गरेको छ । अरु समयमा थोक बजारमा खुऽा मूल्यमा फलफूल किन्न पाइँदैन ।
अहिले भने खुद्रा बजारमा महंगोमा फलफूल किन्नेहरु थोक बजारमा पुगे भने मूल्यमा निकै राहत पाउन सक्छन् ।
स्याउ
बजारमा अहिले विभिन्न किसिमका स्याउहरु छन् । सबैभन्दा सस्तो स्याउ चाइनिज डेलिसियस प्रजातिको हो ।
थोक बजारमा यसको मूल्य प्रतिकिलो १०० रुपैयाँदेखि ११० रुपैयाँसम्म छ । गुणस्तरअनुसार थोक बजारमा एकैप्रजाति भएपनि फरक-फरक मूल्य पर्छ । यही स्याउलाई खुद्रा पसलहरुमा प्रतिकिलो १३० देखि १६० रुपैयाँसम्म असुलिँदैछ ।
यसैगरी नेपाली मुस्ताङको स्याउ प्रतिकेजी १२० देखि १४० रुपैयाँसम्म थोक मूल्यमा पाइन्छ । यही स्याउ खुद्रा बजारमा २३० देखि २६० रुपैयाँसम्म तिर्न उपभोक्ता बाध्य छन् ।
चाइनिज झोले स्याउको मूल्य थोक बजारमा १५० देखि १६० रुपैयाँ प्रतिकेजी पर्छ । तर, यसलाई खुऽा ब्यापारीले प्रतिकिलो २५० देखि २८० रुपैयाँसम्म लिएर बेच्छन् ।
कतिपयले यसलाई नै फूजी स्याउ भन्दै ४ सय रुपैयाँसम्म लिने गरेको भेटिन्छ । तर, बास्तविक फूजी स्याउको थोक मूल्य भने प्रतिकिलो २५० देखि २६० छ ।
त्यस्तै चकलेटी स्याउको थोक मूल्य १०० देखि ११० रुपैयाँ छ । तर, खुद्रा ब्यापारीले यसलाई पनि १४० देखि १६० रुपैयाँसम्म लिइरहेका छन् ।
स्याउको कार्टुन नै किने थोक बिक्रेताले थोरै किन्ने उपभोक्तालाई पनि दिने गरेका छन् । तर, खुद्रामा भने बेच्दैनन् ।
केरा
प्रजाति र गुणस्तरअनुसार केराको मूल्य तय हुन्छ । थोक बजारमा कममा ३० रुपैयाँ दर्जनसम्म पर्ने केरा पाइन्छ । बढीमा ७२ रुपैयाँसम्म पर्ने गुणस्तरीय केरा पनि उपलब्ध छन् । प्रति कोसा ४ देखि ६ रुपैयाँसम्म केरा थोकमा पाइन्छ ।
तर, त्यही केरा बजारमा पुग्दा दर्जनको १२० देखि १४० रुपैयाँसम्म लिने गरेको भेटिन्छ । कम गुणस्तरका केरा पनि ९० रुपैयाँ प्रतिदर्जनसम्म बेचिन्छ ।
अनार
अनारको मूल्य पनि बजारमा एकैनासको भेटिन्न । राम्रो गुणस्तरको अनारको मूल्य अहिले थोक बजारमा २५० रुपैयाँ छ । यही अनार खुद्रा बजारमा ३५० रुपैयाँ भन्दा काममा पाइँदैन ।
सस्तो मूल्यका अनार पनि थोक बजारमा छन् । थोक बिक्रेतालेसाईज अनुसार कममा १५० रुपैयाँ प्रतिकिलोका अनार दिइरहेका छन् ।
तर, खुद्रा बजारमा भने सबै अनारको मूल्य एकैनास गरेर बेच्ने गरिको भेटिन्छ । उपभोक्ताले गुणस्तर छुट्याउन नसक्दा ठगी गर्नेहरुलाई सजिलो भएको छ ।
मौसम
थोकबजारमा मौसम प्रतिकिलो १०० रुपैयाँ छ । खुद्रा बजारमा भने मौसम प्रतिकिलो १ सय ३० १५० रुपैयाँभन्दा माथि छ । अझ राम्रो गुणस्तरको मौसमको मूल्य खुद्रा ब्यापारीले २ सय रुपैयाँसम्म लिएका छन् ।
यस्तै बजारमा अहिले थोरै मात्रामा हरियो सुन्तला पनि आएका छन् । सुन्तला प्रतिकिलो ७५ देखि ९० रुपैयाँ प्रतिकिलोमा थोक बजारमा किन्न सकिन्छ । तर, खुदा बजारमा सुन्तला १३० रुपैयाँभन्दा माथि छ ।
नरिवल
नरिवल पनि दशैंमा धेरै बिक्ने फल हो । पुजाआजामा प्रयोग हुने भएकाले यो समयमा नरिवलका माग बढ्छ । काँचो नरिवल पुजा कार्यमा अनिवार्य जस्तै मानिन्छ ।
थोक बजारमा नरिवलको मूल्य प्रतिगोटा २२ देखि ५० रुपैयाँसम्म पर्छ । संघका कोषाध्यक्ष सापकोटा थोक बजारमा नरिवलको मूल्य साइज अनुसार हुने बताउँछन् ।
तर, खुद्रा बजारमा भने ६० रुपैयाँभन्दा कममा नरिवल किन्न पाइँदैन । अधिकतम् ७५ रुपैयाँसम्ममा नरिवल बिक्री गरिँदैछ ।