खेलकूदको माध्यमबाट पर्यटन विकास : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले मुलुकमा खेलकूदको मध्यमबाट पर्यटन विकासमा महत्वपूर्ण भूमिका पुगेको बताउनु भएको छ । पोखरा महानगरपालिका–२० भलाममा श्रृखला युवा क्लबद्वारा आज आयोजित पाँचौ खुल्ला सेभेन एसाइड फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेलकूद क्षेत्रको समग्र विकासका लागि तीन वटै सरकार जिम्मेवार हुनु पर्नेमा जोड दिनुभयो ।
जनप्रतिनिधिले जनताको मन छुने गरी विकास निर्माणका कार्य गर्नु पर्नेमा जोड दिँदै उहाँले त्यसका लागि सङ्घीय र प्रदेश सरकारको आवश्यक सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै समयमा सम्पन्न भई सञ्चालनमा आउने बताउँदै मन्त्री अधिकारीले त्यसले यस क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
गण्डकी प्रदेशसभा सदस्य विन्दु थापाले खेलकूदको विकासका लागि प्रदेश र स्थानीय सरकारको समन्वय अपरिहार्य रहेको उल्लेख गर्नुभयो । श्रृखला खेलमैदान भलाममा आज भएको उद्घाटन खेलमा श्रृखला(वी)ले त्रिशक्ति क्लबलाई एकका विरुद्ध तीन गोलले पराजित गरेको क्लबका सचिव रमेश खत्रीले जानकारी दिनुभयो ।
प्रतियोगितामा विजयी टोलीले रु एक लाख एक हजार र उपविजेयताले रु ५५ हजार ५५५ नगदसहित पदक, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । कात्तिक १७ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा पोखरा र आसपासका विभिन्न ४१ वटा टोलीको सहभागिता रहेको छ ।
यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पोखरा ३३ द्वारा भरतपोखरीमा आजै आयोजित विभिन्न चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा मन्तव्य व्यक्त गर्दै मन्त्री अधिकारीले सरकार जनअपेक्षाअनुरुपका कामका लागि परेको जानकारी दिनुभयो ।