पुरिँदै त्रिभुवन राजपथको खाल्डाखुल्डी

त्रिभुवन राजपथको खाल्डाखुल्डी डिभिजन सडक कार्यालय हेटौंडाले निर्माण कम्पनीमार्फत पुर्न थालेको छ। कतै–कतै कालोपत्रे पनि गरिँदै छ ।
समयमै राजमार्ग मर्मत नभएकाले जोखिमयुक्त वन्दै गएको थियो । राजमार्गमा सानाठूला गरी २० हजार बढी खाल्डाखुल्डी थिए । भैंसेदेखि लामिडाँडासम्मको १८ किमिमा खाल्डाखुल्डी पुर्ने र प्याचिङ गर्ने काम भइरहेको छ ।
मादेवा खिम्ती/सन्तोष देव निर्माण कम्पनीले १ करोड ६३ लाखमा ठेक्का लिएर खाल्डाखुल्डी पुर्ने र प्याचिङको काम गरिरहेको छ । सम्झौताअनुसार आगामी चैतसम्ममा मर्मतको काम पूरा हुनेछ ।
यसैगरी सिएम कविर जेभी कम्पनीले पालुङदेखि सिमभञ्ज्याङसम्मको खाल्डाखुल्डी पुर्ने र प्याचिङ गर्ने ठेक्का पाएको छ । कम्पनीले १ करोड ४१ लाखमा ठेक्का पाएको हो । कम्पनीले आगामी असार मसान्तसम्म मर्मत सक्नुपर्नेछ ।
यी निर्माण कम्पनीहरूले राजमार्गमा रहेका झन्डै ५ हजार खाल्डाखुल्डी पुर्ने र प्याचिङ गर्ने छन् । ‘राजमार्गमा अझै करिब १५ हजार खाल्डाखुल्डी बाँकी रहनेछन्,’ डिभिजन सडक कार्यालयका एक इन्जिनियरले भने । लामीडाँडादेखि सिमभञ्ज्याङ खण्ड र पालुङदेखि दामेचौरसम्मको सडकको खाल्डाखुल्डी त्यसै बाँकी रहनेछन् ।
‘गत आवमा करिब २ करोडको लागतमा ६ हजार खाल्डाखुल्डी पुर्ने र लिटेनिङ बाल लगाउने काम गरियो,’ साइड इन्जिनियर आशुतोष कर्णले भने, ‘बर्खामा ती खाल्डाखुल्डी फेरि उस्तै भइसकेका छन् । राजमार्गको विभिन्न भागमा सडक भासिएको छ भने कैयौं स्थानमा साना सवारीसाधनको टायर पुरिने खालका खाल्डा छन् ।
स्थानीय बासिन्दाले गाउँतर्फ मोटरबाटो लैजाने क्रममा पनि राजमार्ग विभिन्न स्थानमा भासिएर साँघुरो बनेका छन् । त्रिभुवन राजपथको हेटांैडादेखि दामेचौरसम्म ९० किमि पर्छ । उक्त खण्डमा गत वर्ष सानाठूला गरी २६ हजार बढी खाल्डाखुल्डी थिए । गत वर्षको ठेक्काबाट करिब ६ हजार खाल्डाखुल्डी पुर्ने काम भएको थियो ।
यो वर्ष ५ हजार खाल्डाखुल्डी पुर्ने काम भए अझै २० हजार खाल्डाखुल्डी रहने कार्यालयको भनाइ छ । ‘त्रिभुवन राजपथ भएर आउजाउ गर्न समस्या भयो,’ थाहा नगरपालिका ३, शिखरकोटका अरुण रायमाझीले भने, ‘शिखरकोटबाट साढे २ घण्टामा हेटौंडा पुगिन्थ्यो, बाटो खराब भएकाले ४ घण्टा बढी समय लाग्ने भइसक्यो, चाँडो हिँडौं खाल्डामा परिएला भन्ने डर, बिस्तारै हिँड्यो, समयमा पुगिँदैन ।’
चालु आवमा भने संघीय सरकारले त्रिभुवन राजपथलाई बजेटै विनियोजन गरेन । राजमार्गको सडकसँगै पुलहरू पनि जोखिमयुक्त छन् । राजमार्गमा पर्ने २० मध्ये सामरी र भैंसेको पुलबाहेक १८ वटा जोखिमयुक्त छन् ।
‘ती सबै पुलको तत्कालै मर्मत गर्नुपर्नेछ,’ इन्जिनियर कर्णले भने, ‘पुलहरूको मर्मतसम्भारका लागि २ वर्षअघि नै बजेट माग गर्दै विभागमा पत्र पठाएका थियांै, अहिलेसम्म सुनुवाइ भएको छैन ।’