बाराका पानी उद्योग मापदण्ड बिपरीत, खै त अनुगमन ?

प्रदिप गौतम /
नेपाल सरकारले गएको वर्षको असोज २६ गते पिउने पानी उत्पादन मापदण्ड निर्देशिका जारी गर्यो ।
निर्देशिकामा कुनै पनि उद्योगले पिउने पानी उत्पादन गर्दा अनिवार्य रुपमा स्वचालित मेशिनबाट बोतल सफा गर्ने, पानी भर्ने तथा बिर्को लगाउने र लेबलिङको काम हुनुपर्ने उल्लेख छ । तर बाराका पिउने पानी उद्योग मापदण्ड अनुसार सञ्चालनमा छ की छैन भन्ने बिषयमा सम्बन्धीत निकायबाट खासै अनुगमन भएको देखिदैन ।
असोज २६ गते निर्देशिका जारी हुँदा ६ महिनाभित्र सबै उद्योगहरुले स्वचालित मेशिन राख्नुपर्ने र नराखे उद्योग बन्द गर्नुपर्ने भनिएको थियो । त्यो मिति चैत्र २६ मै सकियो । तर अहिलेसम्म पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौडाले मापदण्ड कार्यान्वयनको लागी पानी उद्योगको खासै प्रभावकारी रुपमा अनुगमन गरेको देखिदैन ।
मापदण्ड पूरा नगरी सञ्चालन भएका पानी उद्योग बन्द गर्ने कार्यालयले पटक पटक बताउदै आएको छ । तर त्यसको प्रभावकारी अनुगमन र निरिक्षण नहुदा जिल्लाभित्र रहेका बिभिन्न पानी उद्योगहरु मनलाग्दि रुपमा सञ्चालन भईरहेका छन् । मापदण्ड बिपरीत पानी उद्योग सञ्चालन हुदा बिभिन्न उद्योगको पानीमा कहिले कमिला त कहिले पानीभित्र लेदो भेटिने गरेको छ ।
बारामा केहि महिनाअघि जिल्ला प्रशासन कार्यालयको सहयोगमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले मापदण्ड अनुसार पानी उद्योग सञ्चालन नगरिएकोभन्दै जिल्लाभित्र रहेका ३ वटा पानी उद्योग बन्द गरेको थियो ।
अहिले जिल्लाभित्र ७ वटा पानी उद्योग सञ्चालन भईरहेको छ । होटल व्यवसायी संघ बाराका उपाध्यक्ष अर्जुन लम्सालले प्रभावकारी रुपमा अनुगमन नहुदा पानी उद्योगको मनलाग्दि बढेको बताउनुभयो ।
अब छिट्टै अनुगमन गर्छौ : सुचना अधिकारी
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौडाले बारामा रहेका पानी उद्योगको छिट्टै अनुगमन गरिने बताएको छ । ए वान समाचारसंग कुरागर्दे कार्यालयका सुचना अधिकारी आकाश काफ्लले केहि महिनाअघि ३ वटा उद्योगमा शिलबन्दी गरिएकोभन्दै अब छिट््टै बाकी उद्योगको पनि अनुगमन गरिने बताउनुभयो ।
‘हामीले भदौमा अनुगमन गर्दा ३ वटा उद्योगले मापदण्ड पुरा नगरेको पार्यौ, त्यस अनुरुपनै हामीले ३ वटा उद्योग शिलबन्दी गर्यौ’ काफ्लेले थप्नुभयो ‘अब हामी छिट्टै बाकी उद्योगको अनुगमन गर्छौ’ ।
अनुगमन खासै प्रभावकारी भएन : प्रशासकीय अधिकृत
जिल्ला प्रशासन कार्यालय बाराले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौडासंग समन्वय गरेर तिहार लगत्तै अनुगमन गर्ने बताएको छ । प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत मुरारी कार्कीले दशै अगाडी केहि उद्योगको अनुगमन भएपनि खासै प्रभावकारी रुपमा अनुगमन गर्न नसकिएको स्विकार गर्नुभयो ।
ए वान समाचारसंग कुरागर्दै उहाले भन्नुभयो ‘अहिलेसम्म हामीले खासै प्रभावकारी अनुगमन गर्न सकेनौ, अब तिहार लगत्तै प्रभावकारी अनुगमन गर्छौ’ ।