बारा महोत्सव २०७५ को सम्पुर्ण तयारी पुरा

बाराको जितपुरसिमरा उपमहानगरपालिकामा हुन लागेको बारा महोत्सव २०७५ को सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । महोत्सवको पुर्व संध्यामा आयोजक एस फाउण्डेशन अफ नेपालले आज प्रेस बिज्ञप्ति जारी गरि महोत्सवको तयारी पुरा भएको बताएको हो ।
वडा नम्बर १४ स्थित दुधौरा रिभर साईडमा हुन लागेको महोत्सव भोलिदेखि शुरु हुदैछ । महोत्सवको एक कार्यक्रमकाबिच संघिय सरकारका उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मात्रिका प्रसाद यादवले उद्घाटन गर्ने कार्यक्रम छ ।
भोलिदेखि शुरु हुन लागेको कृषि, पर्यटन तथा औद्योगिक ब्यापार मेला (बारा महोत्सव) मंसिर १० गतेसम्म चल्नेछ । रिभर पार्कसहित जिल्लाको कृषि उत्पादनको बजारीकरण तथा प्रवर्धन, औद्योगिक उत्पादनको प्रदर्शनी र पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजक एस फाउण्डेशन अफ नेपालका अध्यक्ष बेद प्रसाद भट्टले जानकारी दिनुभयो ।
करिब ५८ लाखको अनुमानित लागतमा हुन लागेको महोत्सवको मुनाफाबाट दुधौरा खोला पार्क निर्माण गर्ने उदेश्य लिईएको अध्यक्ष भट्टले जानकारी दिनुभयो । महोत्सव अवधीभरी कृषी, पर्यटन र औद्योगिक क्षेत्रको विषयमा दर्शकले जानकारी लिन सक्नेछन् । महोत्सव करिब दुई लाख दर्शकले अवलोकन गर्ने लक्ष्य आयोजकले राखेको छ ।
महोत्सव स्थलमा जिल्लाभित्र रहेको कृषीको अवस्था र सम्भावनाको बिषयमा विज्ञसंग जानकारी लिन सक्ने गरी ब्यवस्था मिलाइएको आयोजकले जनाएको छ । यसैगरी जिल्लाको पर्यटकिय स्थलका बारेमा तस्विर, भिडियो र ब्रोसरबाट जानकारी गराउने तयारी भईरहेको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती रहनेछ । महोत्सवमा नेपालका चर्चित गायक शिव परियार, प्रमोद खरेल, ज्योती मगर, कमल खत्री, कमल के. क्षेत्री, दिपक लिम्बु, मिलन लामा, टिका प्रसाई, प्रिती आले, हास्य कलाकार दिनेश काफ्ले, नेपाल आइडलका निशान भट्टराई, प्रताप दास लगायत ३० जना भन्दा बढी कलाकारको प्रस्तुती रहनेछ ।