बारा महोत्सवमा आज गायक शिव परियार आउने

ए वान डेस्क /
नेपालका चर्चित गायक शिव परियार आज बारा आउनुहुने भएको छ । जीतपुरसिमरा उप–महानगरपालिकामा हिजोदेखि शुरु भएको बारा महोत्सवमा आफ्नो प्रस्तुती देखाउन परियार बारा आउन लाग्नुभएको हो ।
युवायुवतीहरुको मन मनमा बस्न सफल परियारले आधा दर्जनभन्दा बढि प्रस्तुती देखाउने बुझिएको छ । आजै नेपालका चर्चित हस्यकलाकार दिनेश काफ्लेले पनि आफ्नो प्रस्तुती देखाउने आयोजक एस फाउण्डेशन अफ नेपालका अध्यक्ष बेद प्रसाद भट्टले जानकारी दिनुभयो । साथमा स्थानीय प्रतिभाहरुले समेत आफ्नो प्रस्तुती देखाउनेछन् ।
हिजोदेखि शुरु भएको महोत्सव मंसिर १० गतेसम्म चल्नेछ । वडा नम्बर १४ स्थित दुधौरा रिभर साईडमा आयोजित महोत्सवको हिजो एक कार्यक्रमकाबिच संघिय सरकारका उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद यादवले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री यादवले उद्योग व्यवसायले देशको बिकास सम्भव रहेको बताउनुभयो ।
बिभिन्न समयमा आयोजना हुन यस्ता किशिमका मेला महोत्सवले पर्यटन प्रवद्र्धनमा ठुलो भुमिका खेल्ने भएपनि उदेश्य अनुरुप काम हुन नसक्दा आलोचित पनि बन्नुपरेको मन्त्री यादवले बताउनुभयो । कृषि, पर्यटन तथा औद्योगिक ब्यापार मेला (बारा महोत्सव) को मुख्य आकषर्णको रुपमा रिभर पार्कसहित जिल्लाको कृषि उत्पादनको बजारीकरण तथा प्रवर्धन, औद्योगिक उत्पादनको प्रदर्शनी र पर्यटन प्रवद्र्धन रहेको छ ।
करिब ५८ लाखको अनुमानित लागतमा हुन लागेको महोत्सवको मुनाफाबाट दुधौरा खोला पार्क निर्माण गर्ने उदेश्य लिईएको फाउण्डेशनका अध्यक्ष भट्टले जानकारी दिनुभयो । महोत्सव अवधीभरी कृषी, पर्यटन र औद्योगिक क्षेत्रको विषयमा दर्शकले जानकारी लिन सक्नेछन् । महोत्सव करिब दुई लाख दर्शकले अवलोकन गर्ने लक्ष्य आयोजकले राखेको छ ।
महोत्सवमा नेपालका चर्चित गायक शिव परियार, प्रमोद खरेल, ज्योती मगर, कमल खत्री, कमल के. क्षेत्री, दिपक लिम्बु, मिलन लामा, टिका प्रसाई, प्रिती आले, हास्य कलाकार दिनेश काफ्ले, नेपाल आइडलका निशान भट्टराई, प्रताप दास लगायत ३० जना भन्दा बढी कलाकारले आफ्नो प्रस्तुती देखाउनेछन् ।