सिमरा गोल्डकप : टाइव्रेकरमा संकटा विजयी, पुग्यो क्वाटरफाईनलमा
सरस्वती यूथ क्लबविरुद्ध टाइव्रेकरमा जित निकाल्दै सिएमजी संकटा क्लब सिमरामा जारी रुस्लान दशौं सिमरा गोल्डकपको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेलको नतिजा टाइव्रेकरबाट निकालिएको हो । शुरुवाती अग्रता जोगाउन नसक्दा ए डिभिजन क्लब सरस्वती प्रतियोगिताबाट बाहिरिन बाध्य भयो ।
खेलको ३८ औं मिनटमा मोहन गुरुङको गोलबाट लिएको अग्रता सरस्वतीले बचाउन सकेन । ५८ औं मिनटमा जय गुरुङले बराबरी गोल फर्काएपछि संकटा खेलमा फर्कियो ।
संकटाको जितमा गोलरक्षक राजाबाबु थापा नायक बने । टाइव्रेकरमा सरस्वतीका तिन प्रहार उत्कृष्ट बचाउ गर्न सफल थापा म्यान अफ दि म्याच बने । उनले सरस्वतीका भिक्टर अमोवी, रमेश घिसिङ र दिपक गुप्ताको प्रहार रोकेका थिए । सरस्वतीका लागि मोहन गुरुङले मात्रै टाइव्रेकरमा गोल गरे ।
संकटाका लागि टाइव्रेकरमा लक्ष्मण रुचाल, सुरज गुरुङ र रोमन लिम्बुले गोल गरेका थिए । संकटाका अमित तामाङको प्रहार बाहिरीयो भने दिपेश आलेमगरको प्रहार क्रसबारमा लागेर फर्कियो ।
सिमरा गोल्डकपको आठौं संस्करणको विजेता समेत रहेको संकटाले सेमीफाइनल प्रवेशका लागि मंगलबार थ्रीस्टार क्लबको सामना गर्नेछ ।
प्रतियोगितामा शुक्रबार दुइ विभागिय क्लब एपिएफ र त्रिभूवन आर्मीले प्रतिष्पर्धा गर्नेछन् । म्यान अफ दि म्याच संकटाका गोलरक्षक थापाले १० हजार नगद प्राप्त गरे । उनलाई क्लबका अध्यक्ष कासिम मियाँ र पूर्व अध्यक्ष राजकुमार भट्टराईले म्यान अफ दि म्याचको ट्रफि सहित चेक हस्तान्तरण गरेका थिए ।















