बाराका पाँच युवालाई उत्कृष्ट युवा प्रतिभा सम्मान

नगद १० हजारबाट सम्मान
ए वान डेस्क
१६ माघ २०७५, बुधबार १७:३८

बाराका पाँच युवा उत्कृष्ट युवा प्रतिभा सम्मानबाट नगदसहित सम्मानित भएका छन् । बारा जिल्लाका उत्कृष्ट युबा प्रतिभा सम्मानबाट पत्रकार महेश्वर अधिकारीसहित पाँच जना युवा सम्मानित भएका हुन् ।

पत्रकारिता क्षेत्रबाट अधिकारी, युवा उद्यमबाट सरोज कोईराला, खेल क्षेत्रबाट यान कुमारी चौलागाई, नेतृत्व विकासतर्फ विक्की कुश्वाह र सामाजिक क्षेत्रबाट उदयराज अधिकारी सम्मानित भएका हुन् । उहाँहरुलाई राष्ट्रिय युवा परिषद्का सदस्य रुपा उप्रेतीले नगद राशी १० हजार र सम्मानपत्रबाट सम्मान गर्नुभएको हो ।

युथ एक्सन नेपालको आयोजनामा च्याप्टर नेपालको सहकार्यमा निजगढस्थित सगरमाथा साकोसको सभाहलमा आयोजित एक कार्यक्रमका विच सम्मान र पुरस्कृत गरिएको हो । सम्मान वितरणपछि सम्बोधन गर्दै राष्ट्रिय युवा परिषद्का सदस्य रुपा उप्रेतीले प्रदेश २ का युवाहरुले सामान्य आधारभूत आवश्यकताका लागि संघर्ष गर्नुपर्ने अवस्थामा रहेको बताउनुभयो ।

त्यस्तै च्याप्टर नेपालका अध्यक्ष रुद्र धितालले विभिन्न क्षेत्रमा उत्कृष्ठ काम गरिरहेका युवाहरुलाई उर्जा पुग्न सक्ने युवाहरुको नाम एक महिना अघि नोमिनेशन गरिएको बताउनुभयो । सम्मानपछि कुशल ब्यवसाय परामर्श तथा तालिम केन्द्रका कार्यकारी निर्देशक सरोज कोईराला र युवा नेतृत्व अभियन्ता विक्की कुश्वाहले सम्बोधन गर्दैै सम्मानले थप जिम्मेवारी थपीएको बताउनुभएको थियो ।

च्याप्टर नेपालका अध्यक्ष रुद्र धितालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत होमनाथ बञ्जरा र सञ्चालन खड्ग श्रेष्ठले गर्नुभएको थियो । सम्मान कार्यक्रममा गौरीशंकर क्यापसका प्रमुख रामप्रसाद गौतम, सगरमाथा साकोसका सचिव बोधनाथ चौलागाई, रेडियोकर्मी उमेश सनार, युवा कृषक हिरा सारु मगर लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*