जापान रोजगारी : यसकारण गरिँदैछ कामदार पठाउन ‘गोप्य’ छलफल
रोजगारीको आकर्षक गन्तव्य मानिएको जापानमा नेपाली कामदार पठाउन छलफललाई तीव्रता दिइएको छ । नेपाली र जापानी पक्षबीच कामदार पठाउनेबारे गम्भीर ढङ्गले गृहकार्य चलिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतले जनाएको छ ।
यस विषयमा गत माघ ३ गते जापानी पक्षसँग औपचारिक रूपमै छलफलसमेत भएको थियो । सो क्रममा जापानी पक्षले नेपालीलाई जापान लैजाने विषयमा अन्तिम टुङ्गो नलागेसम्म आफ्ना भेटवार्ताका विषय गोप्य राख्न भनेपछि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पनि यस विषयमा भएका प्रगतिलाई बाहिर ल्याउन चाहिरहेको छैन ।
स्रोतका अनुसार वैदेशिक रोजगारका अन्य गन्तव्यभन्दा उत्कृष्ट मोडलमा कामदार पठाउने सरकारको तयारी छ ।
श्रम मन्त्रालयका एक उच्च अधिकारीका अनुसार जापानले आफ्नो देशमा कामदार भित्र्याउन विभिन्न नौ देशसँग छलफल गरिरहेको छ ।
सोही आधारमा एक मुलुकसँग भएका छलफलको निर्णय अर्को देशले अहिले नै थाहा पाउँदा बार्गेनिङ गर्न सक्ने भएकाले जापानी पक्षले यो विषयमा कुनै कुरा बाहिर नल्याउन मन्त्रालयलाई आग्रह गरेको हो ।
मन्त्रालयका ती अधिकारी पनि उनीहरूको सम्मान स्वरूप आफूले छलफलका विषय सार्वजनिक गर्न नसक्ने बताउँछन् ।
यद्यपि, उनका अनुसार यसबीचमा मन्त्री गोकर्ण विष्टले पनि जापानी राजदूतसँग पटक पटक भेट गरिसकेका छन् ।
छलफलका क्रममा श्रमिक ठगिन नपरोस् र नेपाली कामदारको सुरक्षा तथा सेवासुविधा राम्रो होस भन्ने नेपालको चहना रहेको मनत्री विष्टले प्रष्ट पारेका छन् ।
यदि जापान र नेपालबीच सहमति भएर नेपाली कामदार जापान गए भने उनीहरू जाने मोडल अहिलेसम्मकै उत्कृष्ट हुने मन्त्रालय श्रोतको दाबी छ ।















