अबको लक्ष्य टीट्‍वेन्टी शृंखला

ए वान डेस्क
१७ माघ २०७५, बिहीबार १२:४७

राष्ट्रिय क्रिकेट टोलीले बिहीबारबाट संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध टीट्‍वेन्टी शृंखला खेल्दै छ। तीन खेलको शृंखलामध्ये पहिलो खेल बिहीबार दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा हुनेछ। घरेलु टोली यूएईविरुद्धको तीन एकदिवसीय खेलको शृंखला २–१ ले जित्दै ऐतिहासिक सफलता हात पारेको नेपाली टोली फेरि अर्काे सफलताका हासिल गर्ने योजनामा छ।

नेपाली टोलीले टीट्वेन्टीतर्फ यसअघि पनि शृंखला खेलिसकेको छ। यद्यपि गत जुन/जुलाईमा इङ्ल्यान्डको पुरानो मेरिलेवर्न क्रिकेट क्लब (एमसीसी)को आयोजनामा नेदरल्यान्ड्ससमेत सहभागी भएको त्रिकोणात्मक टीट्‍वेन्टी शृंखलाको उपाधि नेदरल्यान्ड्ससँग संयुक्त रूपमा जित्नुबाहेक नेपालले एक्लो रूपमा कुनै पनि टीट्‍वेन्टी शृंखला जित्न सकेको छैन।

लर्ड्स मैदानमा भएको त्रिकोणात्मक शृंखलाको फाइनल खेल वर्षाका कारण अवरुद्ध हुँदा एक/एक अंक बाँड्दै नेपाल र नेदरल्यान्ड्सले शृंखला पनि बाँडेका थिए। यद्यपि सो शृंखलामा नेपाल र नेदरल्यान्ड्सबीचको खेलले मात्रै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट पूर्ण टीट्‍वेन्टी खेलको मान्यता पाएको थियो। सन् २०१४ मा बंगलादेशमा भएको टीट्‍वेन्टी विश्वकप खेलेसँगै नेपालले आईसीसीबाट दुई वर्षका लागि टीट्‍वेन्टी टोलीको मान्यता प्राप्त गरेको थियो।

सो अवधिमा नेपालले नेदरल्यान्ड्ससँग चार खेल र हङकङसँग तीन खेलको टीट्‍वेन्टी शृंखला खेलेको थियो। नेदरल्यान्ड्ससँगको शृंखला नेपालले ३–१ र वर्षाका कारण तीनमध्ये अन्तिम खेल मात्रै सम्भव हुँदा हङकङसँगको शृंखला १–० ले गुमाएको थियो। त्यसैले नेपाली टोली यूएईविरुद्धको टीट्‍वेन्टी शृंखलासमेत जितेर अर्काे ऐतिहासिक उपलब्धि थप्ने योजनामा छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*