ठूला अस्पतालमा थोत्रा एम्बुलेन्स : किन चलाउँदैनन् सरकारी अस्पताल ?

ए वान डेस्क
१७ माघ २०७५, बिहीबार १५:४३

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालभित्र प्रवेश गरेपछि दुई बाटा छुटिन्छन् ।

एकतिर बिरामीको उपचार गर्ने र अर्कोतिर अस्पतालको प्रशासन, लेखा, स्टोर र चिकित्सक, कर्मचारीहरूको क्वाटर रहेका छन् ।

अस्पतालको प्रशासन भवनतिर प्रवेश गर्दा तीनवटा एम्बुलेन्स पार्किङ गरेर राखिएको भेटिन्छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका नाममा रहेका बा १ झ ८७९६, लू १ झ २४४ र लु १ झ ३०४ नम्बरको एम्बुलेन्स त्यहाँ लस्करै छन् ।

यो दृश्य देख्दा बिरामी र बिरामीका आफन्त अस्पतालमा एम्बुलेन्स पाउने आशले ढुक्क हुन्छन् ।

यस्तै आशमा रहेका मध्येका एक पाल्पा रामपुरका बाबुराम अधिकारीले सोमबार बिहान अस्पतालको एम्बुलेन्स प्रयोग गर्न पाएनन् । उनी अस्पतालको इमर्जेसी गेटतिर लागे र प्राइभेट एम्बुलेन्स प्रयोग गरी आफ्नी बिरामी आमालाई उपचारका लागि भरतपुर अस्पताल पुर्याए ।

उनले भने, ‘आमालाई यहाँबाट भरतपुर रिफर गरियो तर अस्पतालको एम्बुलेन्स चल्दैन । अनि प्राइभेट एम्बुलेन्स खोज्न बाध्य भएँ ।’

उनले अस्पतालको एम्बुलेन्स नचल्ने जवाफ पाएपछि निजी एम्बुलेन्स खोज्नुपरेको गुनासो गरे ।

बुटवलको लुम्बिनी अञ्चल अस्पताललाई (हाल) प्रादेशिक अस्पतालमा दाताले दिएको बा १ झ ८७९६ नम्बर एम्बुलेन्स बिग्रेको तीन वर्ष भयो ।
अर्को लु १ झ ३०४ नम्बरको एम्बुलेन्स पनि बिग्रेर थन्किएको छ । लु १ झ २४४ नम्बर एम्बुलेन्स बिरामी बोक्नका लागि नभई अस्पतालका केही चिकित्सकहरू र कर्मचारी ओसार्न र कार्यलयका अरू कामका लागि मात्र प्रयोग हुने गरेको छ, जसको सिटसमेत परिर्वतन गरी जिपको जस्तो बनाइएको छ ।
अस्पतालका प्रमुख डा. कृष्ण खनालले त्यो एम्बुलेन्स बिग्रिएको बताए । उनले बनाउन मिल्ने भए पनि तेल धेरै खपत हुने भएकाले चलाउन चासो नदिएको बताए

यो अस्पतालमा दैनिक १४ सयसम्म बिरामीको उपचार हुने गर्छ । एम्बुलेन्स सेवा प्रयोग गर्ने बिरामी सङ्ख्या दैनिक १ सय जति हुने एम्बुलेन्स चालक ईन्द्रमणि पौड्यल बताउँछन् ।

निजी एम्बुलेसलाई प्रोत्साहन

अस्पतालको इमरजेन्सी गेटबाट भित्र प्रवेश झण्डै एक दर्जन निजी एम्बुलेन्स पार्किङ गरेका भेटिन्छन् । ती एम्बुलेन्समा चालक र उनीहरूका फोननम्बर पनि भित्तामा टाँसिएका हुन्छन् ।

तर सरकारी यो अस्पतालको प्रशासन अगाडि राखिएका ३ वटा एम्बुलेन्सले वर्षौंदेखि बिरामी बोकेका छैनन् । ती एम्बुलेन्स देखाउनकै लागि मात्र राखिएजस्ता छन् ।

अस्पतालभित्र त्यो पनि इमरजेन्सी विभागसँगै एक दर्जन एम्बुलेन्स सहजै पार्किङ गर्न दिने अस्पताल प्रशासनले आफ्ना एम्बुलेन्स चलाउन चासो नदिएर प्राइभेटलाई प्रोत्साहन गरेको प्रष्टै बुझिन्छ ।

आमाको उपचारका लागि आएका बाबुरामले भने, ‘अस्पतालमा एम्बुलेन्स राखेर सर्वसाधरणलाई सहज र कम मूल्यमा सेवा प्रदान गर्नुपर्ने हो । तर यहाँ प्राइभेट एम्बुलेन्सलाई प्रोत्साहन गरेको पाइयो ।’ यही अवस्था ५ नम्बर प्रदेशका अन्य ठूला सरकारी अस्पतालमा पनि छ ।

दाङको राप्ती अञ्चल अस्पताल तुलसीपुर ‘एम्बुलेन्स’विहीन अवस्थामा छ । अस्पताल स्थापनादेखि सञ्चालन हुँदै आएका एम्बुलेन्स तीन वर्षदेखि बिग्रिएर थन्किएका छन् ।

एम्बुलेन्स नभएपछि बिरामीलाई अन्य अस्पतालमा पठाउँदा तथा टाढाटाढाबाट बिरामी ल्याउन निजी एम्बुलेन्स प्रयोग गर्नुपर्ने बाध्यता छ ।
अस्पतालको रा १ झ ११३ नं को एम्बुलेन्स बिग्रिएपछि अहिले निजी एम्बुलेन्समा सिफारिस गर्ने गरेको अस्पतालका सूचना अधिकारी कमल सुवेदीले बताए ।

निजी एम्बुलेन्सले महँगो शुल्क तिर्नुपर्ने सेवाग्राहीको बाध्यता छ । अर्कोतर्फ आफूलाई आवश्यक परेको समयमा एम्बुलेन्स पाउन पनि समस्या हुने गरेको उनीहरूको गुनासो छ ।

सो अस्पतालमा एम्बुलेन्स चलाउन एकजना चालकको दरबन्दी रहे पनि अहिले रिक्त छ ।

त्यस्तै घोराहीको हाल स्वास्थ्य विज्ञान प्रतिष्ठान (साविकको राप्ती उपक्षेत्रीय अस्पताल) मा १० वर्षदेखि बिग्रिएको एम्बुलेन्स मर्मत हुन सकेको छैन् । पटक पटक बिग्रिने र मर्मत गर्दा धेरै खर्च हुने भएकाले मर्मत नगरी त्यतिकै थन्क्याइने गरिएको अस्पताल बताउँछ ।

एम्बुलेन्सविहीन अस्पताल प्रदेश सरकारको पर्खाइमा छ ।

प्रदेश सरकारले प्रत्येक अञ्चल अस्पतालमा दुई दुई एम्बुलेन्स उपलब्ध गराउने भनिएकाले त्यसकै पर्खाइमा रहेको अञ्चल अस्पतालका सूचना अधिकारी सुवेदी बताउँछन् ।

दाङका सातवटा एम्बुलेन्स प्रयोगविहीन रहेका छन् । जिल्लाका ६२ वटा एम्बुलेन्समध्ये अहिले ५५ वटा एम्बुलेन्स मात्रै सञ्चालनमा छन् । राप्ती अञ्चल अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, लाइन्स क्लब आफ तुलसीपुर, घोराही उद्योग वाणिज्य सङ्घ र होटल व्यवसाय समिति घोराहीलगायतका सातवटा एम्बुलेन्स बिग्रिएर प्रयोगविहीन छन् । ती एम्बुलेन्स मर्मत गर्न कुनै पनि निकायले ध्यान दिएका छैनन् । एम्बुलेन्स नभएपछि बिरामीलाई अन्य अस्पतालमा पठाउँदा तथा टाढाटाढाबाट बिरामी ल्याउन निजी एम्बुलेन्स प्रयोग गरिरहेका छन् ।

नेपाल एम्बुलेन्स चालक सङ्घ केन्द्रीय महासचिव मुक्ति काफ्लेकाअनुसार पाँच नम्बर प्रदेशमा ३२० एम्बुलेन्स सञ्चालन छन् । रुपन्देही, दाङ र नेपालगञ्जमा धेरै एम्बुलेन्स छन् । तर सरकारी अस्पतालहरूमा भने एम्बुलेन्स नगन्य मात्रै सञ्चालनमा छन् । लुम्बिनी अस्पताल प्रमुख डा. कृष्ण खानालले एम्बुलेन्स चलाउन खर्च धेरै लाग्ने भएकाले चलाउन नसकिएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*