तराई यातायात व्यवसायी संघले भन्यो : हामी सिण्डिकेटको पक्षमा छैनौ

ए वान डेस्क
१४ फाल्गुन २०७५, मंगलवार २०:५०

बाराको सिमरा स्थित तराई यातायात व्यवसायी संघले आँफूहरु सिण्डीकेटको पक्षधर नभएको स्पष्ट पारेको छ ।

केहि सञ्चार माध्यममा ट्रक यातायात व्यवसायी संघहरुले घुमाउरो पारामा सिण्डिकेट लागु गर्न खोजेको भन्दै समाचार सम्प्रेषण भएपछि मंगलबार सिमरा स्थित कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि संघले आँफूहरु सिण्डिकेटको पक्षमा नरहेको स्पष्ट पारेको हो ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघ आवद्ध मुलुकभरका संघसंस्थाले ढुवानी तथा यातायातको चापलाई व्यवस्थित गर्ने उद्देश्यले शुरु गरेको ‘विस्तारै जाऔं, विस्तारै आऔं’ अभियानलाई सिण्डिकेटका रुपमा परिभाषित गरिनु गलत भएको संघको भनाई छ ।

यातायात व्यवसायीको मर्म र भावना विपरित केहि सञ्चार माध्यमले गलत समाचार सम्प्रेषण गरेकाले त्यसप्रति आँफूहरुको गम्भिर ध्यानाकर्षण भएको पत्रकार सम्मेलनमा संघका महासचिब शंकरकुमार विष्टले बताए । मंगलबार प्रकाशित एक राष्ट्रिय दैनिकले यातायात व्यवसायी सिण्डीकेट व्युँताउन लागेको समाचार प्रकाशित गरेपछि संघले त्यसको खण्डन गरेको हो ।

संघमा आवद्ध रहेका हजारौं यातायात व्यवसायी र यातायात मजदुरहरुको सहमतिमा आँफूहरुले ‘विस्तारै जाऔं, विस्तारै आऔं’ अभियान शुरु गरेको दावी गर्दै संघका महासचिबले भने ‘दूर्घटना न्यूनिकरणका लागि हामी सचेत हुन पाउने कि नपाउने ?’

ट्रक व्यवसायीले आफ्नो व्यवसाय सञ्चालनलाई व्यवस्थित बनाएर सुरक्षित व्यवासाय सञ्चालन गर्ने नीति लिनु गलत नभएको भन्दै संघका महासचिब विष्टले केहि गलत व्यक्तिको लहडमा परेर मिडियाबाट गलत समाचार सम्प्रेषण नगर्न आग्रह समेत गरे ।‘अहिलेको जटिल परिस्थितीमा हामि आँफै आफ्नो व्यवसाय कसरी जोगाउन सक्छौं भन्नेमा चिन्तित छौं, तर केहि मिडिया गलत व्यक्तिको प्रभावमा परेर हामि प्रति गलत आरोप लगाइरहेका छन्, यसो नगर्नुस’ महासचिब विष्टले भने ।

ढुवानी भाडाका विषयमा समेत मिडियामा नकारात्मक समाचार आएको प्रति महासचिब विष्टले दुःखेसो पोखे । ‘यात्रुवाहक सवारी साधनका लागि सरकारले भाडादर कायम गरि काउण्टर खोलेर भाडा संकलन गर्ने व्यवस्था मिलाएको छ तर मालवाहक सवारीका हकमा त्यस्तो व्यवस्था छैन’ उनले भने ।

यातायात व्यवसायीहरुले ढुवानी व्यवसायी (ट्रान्सपोर्ट सञ्चालक) ले तोकेको भाडादरमा मालसामान ढुवानी गर्ने गरेकाले त्यसको दोष यातायात व्यवसायीलाई लगाउनु गलत रहेको उनको भनाई छ । ‘हामि यातायात व्यवासायी ट्रान्सपोर्टले तोकेको भाडादरमा माल लोड गर्न जान्छौं, अनि भाडा बढि लिएको आरोप हामिले किन खेप्नुपर्ने ?’ महासचिब विष्टले प्रश्न गरे ।

साथै पत्रकार सम्मेलन मार्फत सरकारले तोकेको भन्दा बढि वजन बोकेर आउने सवारीलाई व्यवस्थापन गर्ने तर्फ समेत संघले सरकारको ध्यानाकर्षण गराएको छ । विशेषतः भारतिय सवारी साधनले नेपाल सरकारले तोकेको भन्दा बढि भार बोकेर आउने गरेको र त्यसको व्यवस्थापन हुन नसक्दा नेपाली व्यवसायी मारमा परेको संघको भनाई छ । नेपाली ट्रक व्यवासायीलाई कारवाही गर्ने प्रहरी प्रशासनले पनि भारतिय सवारीको भारवहन नियन्त्रणमा ध्यान नदिएको संघका सचिब देवकुमार श्रेष्ठले बताए ।

पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष माधवकुमार नेपाल, सचिब जीवनकुमार श्रेष्ठ, सहकोषाध्यक्ष हिराबहादुर गुरुङ, सदस्य दिलमाया श्रेष्ठ, बरिष्ठ यातायात व्यवसायी हरिशरण अधिकारी, अर्जुन अधिकारी, नेपाल स्वतन्त्र चालक समाजका केन्द्रिय अध्यक्ष बसन्त शर्मा लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*