अमलेखगञ्जमा खानेपानीको हाहाकार : सरकारसम्म पुग्यो गुहार, फेरिएन अझै मुहार

सांकेतिक तस्विर
ए वान डेस्क
२० माघ २०७५, आईतवार १२:५४

प्रदिप गौतम /

बाराको अमलेखगञ्जमा खानेपानीको समस्या दिनप्रतिदिन बढ्दै गएको छ । समस्या समाधानको बिषयमा सम्बन्धीत निकायले बेवास्ता गर्दा अमलेखगञ्जमा खानेपानीको समस्या बढ्दै गएको हो । अमलेखगञ्ज बाराको जीतपुरसिमरा उप–महानगरपालिकामा पर्दछ । खासगरी वडा नम्बर २१ र २२ मा अहिले पानीको हाहाकार भएको छ । अमलेखगञ्जमा देखिएको खानेपानी समस्या र यसको समाधान कसरी गर्न सकिएला भन्ने बिषयमा ए वान समाचारले आजबाट बहस शुुरु गरेको छ । सबैभन्दा पहिले अमलेखगञ्जमा देखिएको खानेपानी समस्याको बिषयमा सामान्य जानकारी :

५ वटा मुहान

अमलेखगञ्जमा ५ वटा मुहानबाट खोलाको पानी ल्याईन्छ । तर एउटा मुहानमा समस्या आएकाले अहिले ४ वटा मुहान सञ्चालनमा रहेको अमलेखगञ्ज खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष नारायण प्रसाद लामिछानेले जानकारी दिनुभयो । तर भएको ४ वटा मुहानपनि संरक्षण हुन नसक्दा बर्षेनी स्थानीयले समस्या खेप्नु परेको लामिछानेले बताउनुभयो । ‘मुख्य कुरा त यहा मुहान संरक्षण हुन सकेन्, बर्खा पाउने बित्तिकै पाईप बगाउछ’ उहाले भन्नुभयो । मुहान र पाईप  संरक्षण गर्न सके खानेपानी समस्या समाधान हुने भन्दै उहाले सम्बन्धीत निकायले उचित कदम चाल्न जरुरी रहेको बताउनुभयो ।

अमलेखगञ्जको २२ मा बढि समस्या

अमेखगञ्जमा सबैभन्दा बढि खानेपानीको समस्या वडा नम्बर २२ मा देखिएको छ । अमलेखगञ्ज खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष नारायण प्रसाद लामिछानेका अनुसार २१ मा भन्दा बढि समस्या २२ मा देखिएको हो । ‘२१ मा त खासै समस्या छैन्, २२ मा त्यहाका स्थानीय झन्डै ५–६ किलोमिटर टाढा गएर पानी ल्याउन बाध्य छन्’ उहाले भन्नुभयो । उहाका अनुसार सबैभन्दा बढि समस्या बागिडाडा, गुरुङ्ग टोल र मुख्य राजमार्गको १ नम्बर पुलदेखि प्रहरी चौकीसम्म देखिएको छ ।

यस्तो छ समस्या

अमलेखगञ्जमा देखिएको खानेपानी समस्या समाधान गर्न केहि बर्षअघि डिप बोरिङ्ग राख्ने योजना बनाईयो । योजना अनुरुप नै अमलेखगञ्जको चकरीमा जमिन खन्ने काम भयो । तर बिडम्बना झन्डै डेढ सय मिटर खनिसक्दा पनि चकरीमा पानी भेटिएन् । करिव १४० मिटर खन्दापनि जमिनमा चट्टान नै चट्टान फेला परेपछि सुद्ध खानेपानी पिउने अमलेखगञ्जका स्थानीयको आश त्यसबेला नै मरेको थियो । तर ३०० मिटरभन्दा बढि खन्न सकियो भने पानी आउनेभन्दै जिल्लाबाट आएको एक टोलिले रकमको जोहो गर्न भनेका थिए । तर रकमको अभावमा हालसम्म पनि सो योजना अघि बढ्न नसकेको बताईएको छ ।

खोलाको पानी खान योग्य छ त ?

बर्षौदेखि अमलेखगञ्जका स्थानीय खोलाको पानी खान बाध्य छन् । तर के खोलाको पानी खान उपयुक्त छ त ? भन्ने प्रश्न हामीले अमलेखगञ्ज खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष नारायण प्रसाद लामिछानेलाई राख्यौ । जवाफमा उहाले १ बर्षअघि खानेपानीको परिक्षण भएकोभन्दै खान मिल्ने बताउनुभयो । ‘१ बर्षअघि जिल्लामा रहेको खानेपानी कार्यालयबाट एउटा टोलि आएर चेकजाच गरेको थियो, त्यसबेला पानी सुद्ध आउनेभन्दै खान योग्य रहेको कुरा उहाहरुले बताउनुभएको थियो’ उहाले भन्नुभयो ।

दिर्घकालिन समाधान खोज्नुपर्छ : ठकुरी

वडा नम्बर २१ का वडा अध्यक्ष कृष्ण ठकुरीले दिर्घकालिन समाधान खोज्नुपर्नेमा जोड दिनुभयो । जटिल समस्याको रुपमा खानेपानीको समाधान दिर्घकालिन रुपमै खोज्नुपर्नेभन्दै उहाले डिप बोरिङ्ग नै यसको उत्तम बिकल्प हुने बताउनुभयो । तत्कालिन र दिर्घकालिन समाधान खोज्न वडाले कस्तो पहल गरिरहेको छ भन्ने ए वान समाचारको प्रश्नमा उहाले भन्नुभयो ‘हामीले नगरसंग समन्वय गरेर भएपनि बजेट रकमान्तर गरेर अहिलेको समस्या समाधान गर्ने प्रयास गरिरहेका छौ, फलस्वरुप केहि मात्रामा भएपनि अहिले समस्या समाधान भएको छ, दिर्घकालिन समाधानको बिषयमा भने छलफल गर्दैछौ’ ।

भेदभाव गरियो : थिङ्ग

वडा नम्बर २२ का वडा अध्यक्ष मणिकलाल थिङ्गले भुगोलको हिसाबले बिकट र दर्गम स्थानमा रहेको अमलेखगञ्जमाथि भेदभाव भईरहेको बताउनुभयो । खानेपानी समस्या समाधानको बिषयमा पटक पटक उप–महानगरपालिकामा छलफल हुदापनि खासै सुनुवाई नभएकोभन्दै उहाले आफुले छुट्टै भेदभावको महशुस गरेको बताउनुभयो । अमलेखगञ्जमा खानेपानीको समस्या दिनप्रतिदिन बढ्दै गएकोभन्दै उहाले यसको निकास खोज्न कसैलेपनि चासो नदेखाएको बताउनुभयो ।

हामीबाट हुने काम भईरहेको छ : मेयर पौडेल

जीतपुरसिमरा उप–महानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले अमलेखगञ्जमा देखिएको खानेपानी समस्या समाधानका लागी उप–महानगरपालिका तत्पर रहेको बताउनुभयो । ए वान समाचारसंग कुरागर्दे उहाले भन्नुभयो ‘तत्कालिन समाधान भनेको हामीले जे सकिन्छ ममर्त सम्भार गर्ने हो, त्यसको लागी यहाबाट गर्न सकिने मर्मत सुधारका काम हामीले गरिरहेका छौ’ । खानेपानी समस्याको बिषयमा केन्द्र र प्रदेशलाई जानकारी गराईएकोभन्दै उहाले थप छलफलको आवश्यक्ता औल्याउनुभयो ।

पहल गर्छु : सिता गुरुङ्ग 

प्रदेश नम्बर २ की प्रदेशसभा सदस्य सिता गुरुङ्गले अमलेखगञ्जमा देखिएको खानेपानी समस्या समाधान गर्ने बिषयमा आफु गंभिर रहेको बताउनुभयो । तपाईपनि अमलेखगञ्ज निवासी नै भएको कारणले गर्दा यसको समाधान गर्न के गर्नुहुन्छ ? भन्ने प्रश्न उहाले तत्कालिन समस्या र दिर्घकालिन समस्याको समाधान खोज्नुपर्नेभन्दै त्यसको लागी आफु लागिपर्ने बताउनुभयो । ‘यो समस्याको समाधान दुई किशिमबाट हुन्छ, पहिलो तत्कालिन समस्या, त्यसलाई नया पाईप जडान गरेर गर्न सकिन्छ, दोस्रो दिर्घकालिन समस्या, त्यो बिषयमा भने म प्रदेश र केन्द्रमा राख्नेछु’ उहाले भन्नुभयो ।

यसरी हुन सक्छ समस्याको समाधान

अमलेखगञ्जमा देखिएको खानेपानी समस्या समाधान गर्ने बिषयमा वडा र नगर स्तरमा पटक पटक छलफल भएपनि यसको निकास के हुन सक्छ भन्ने बिषयमा भने ठोस निर्णय हुन सकेको छैन् । खानेपानीको समस्यमा समाधान तत्कालिन र दिर्घकालिन रुपमा खोज्नुपर्ने हुन्छ । तत्कालिन समस्या भनेको मुहान संरक्षण नै हो । राम्रोसंग मुहान संरक्षण नहुदा बर्षेनी आउने बाढिले पाईप बगाउने गरेको छ । त्यसबेला पानी त दुषि हुने नै भयो, त्यसमाथि पनि पाईप नै बगाउदा त बर्खाको समयमा त्यहा पानीको हाहाकार नै हुने गरेको छ । सबैभन्दा पहिले त तार जालि लगाएर भएपनि तत्कालिन समस्या समाधान गर्ने बिषयमा सम्बन्धीत निकायले ध्यान दिन जरुरी देखिन्छ । दोस्रो भनेको दिर्घकालिन समाधान हो । दिर्घकालिन समाधानको लागी प्रयाप्त समय र बजेट लाग्ने देखिन्छ । त्यो भनेको प्रयाप्त बजेटमार्फत ठुलो डिप बोरिङ्ग हाल्नु हो । यसरी तत्कालिन र दिर्घकालिन समाधान खोज्न सकियो भने समस्याको समाधान हुने देखिन्छ । त्यसतर्फ स्थानीय, प्रदेश र केन्द्रका जनप्रतिनिधिले बिशेष ध्यान पुर्याउनुपर्ने आजको आवश्यक्ता हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*