जीतपुरसिमराका तिन सहकारी प्रोवेशन ब्राण्डको तयारीमा, के हो प्रोवेशन ब्राण्ड ?
ए वान डेस्क /
बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रहेका रहेका तिन ठुला सहकारी प्रोवेशन ब्राण्ड (पुर्ण तथा ब्यवसायीक साकोस बिकास कार्यक्रम) को तयारीमा लागेका छन् । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) ले प्रदान गर्ने प्रोवेशन ब्राण्डका लागी अभिमुखीकरण तालिमको आयोजना गरी तिन सहकारीले सहकारी शुशासनमा प्रतिवद्ध भई सहकारीलाई समृद्धीको अभियानसंग जोडन तयार भएका हुन् ।
सिमराको जेठो सहकारीका रुपमा स्थापित जनकल्याण बचत तथा ऋण सहकारी संस्था, सिमराकै सिमरा महिला साकोस र औराहामा रहेको घण्टीमाई साकोसका तिन अध्यक्ष सहित संचालक समिती र कर्मचारीहरुलाई संघले आइतबार सिमराको होटल सम्याकमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । अभिमुखिकरणमा नेफ्स्कुनका तालिम अधिकृत केशव दहालले प्रशिक्षण दिँदै सहकारी अव पनि नयाँ बिचारधारा र नयाँ सिद्धान्तबाट अगाढी नबढे ठुलो जोखिममा पर्ने बताए ।
बचत तथा ऋण सहकारी संस्थाहरुले सहकारी संचालनका १० अन्तराष्र्टिय सिद्धान्तहरुको अवलम्बन गर्न आवश्यक रहेको भन्दै बित्तिय दिगोपनमा सहकारीहरु गम्भिर नभएको बताए ।
यसैबिच अभिमुखिकरणपछि संचारकर्मीसंग बोल्दै जनकल्याण साकोसका अध्यक्ष मदुसुदन सिटौलाले अब बस्ने संचालक समितीको पहिलो बैठकबाट प्रोवेशनमा जाने निर्णय गरी अगाढी बढने बताए । कतिपय यस ब्राण्डका मापदण्डहरु जनकल्याणले पुरा गरिसकेको बताउँदै केही परिधि र चुनौतीहरुलाई ब्यवस्थापन गरी सहकारीलाई दिगो ब्यवस्थापन र सहकारीको भविष्यलाई सुनिश्चत् गर्न प्रतिवद्ध रहेको बताए ।
यस्तै सिमरा महिला साकोसकी अध्यक्ष अनिता लम्सालले यस ब्राण्डका लागी संचालक समितीहरुबिच ब्यापक छलफल र बहस गरी नेफ्स्कुनसंग सम्झौता गरीने बताइन् । यस ब्राण्ड प्राप्त गर्न सके सहकारीका हरेक चुनौती र अप्ठ्याराहरुलाई सजिलै पार गर्न सकिने र आगामी दिनमा कुनैपनि अवस्थामा सहकारी जोखिममा नपर्ने हुँदा यस सहकारी सुशासनको अभियानमा लागी पर्ने बताइन ।
यस्तै घण्टीमाई साकोसकी अध्यक्ष कोपीला सिम्खडाले सहकारीलाई अब नयाँ शिराबाट ब्यवस्थापनको तयारी थालिने र प्रोवेशनमा जाने बताइन् । सहकारीको भोलीको भविष्य प्रति आजै चिन्तित् नभए सहकारी क्षेत्रमा ठुलो बिपत् आइपर्ने धारण राखिन् ।
के हो एक्सेस र प्रोवेशन ब्राण्ड ?
नेपालभरीका बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुप्रति लक्षित रही सशुल्क रुपमा सहयोगी र नियमनकारी भुमिकामा रहेका नेफ्स्कुनले बिभिन्न ५५ (सुचक) मापदण्डका आधारमा सहकारीहरुको गुणस्तर मापन गर्दै आइरहेको छ । यस्तै संघले सफ्टवयर निर्माण, जोखिम सुपरिवेक्षण, पुनःनिर्माण, एसियाली मान्यता मापनका आधारमा एक्सेस ब्राण्ड, अन्तरलगानी, नितिगत पहलकदमी, लघुबिमा, बिप्रेषण ब्यवस्थापन लगाएतका क्षेत्रमा बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरु माझ काम गर्दै आइरहेको छ ।
जसमध्येको एउटा कार्यक्रम हो प्रोवेशन । यस कार्यक्रमका लागी सहकारीले संघसंग सम्झौता गरी १८ महिनाको अवधीमा मापदण्डका आधार तयार गर्न सक्नुपर्छ ।
विगत ४ बर्षदेखि सञ्चालनमा ल्याईएको प्रोवेशनमा हाल देशभरिका १ सय २१ बढी साकोसहरु आबद्ध छन् । प्रोवेशन अन्तिम परीक्षणबाट सफल हुने साकोसलाई नेफ्स्कून र सहकारी विभागले संयुक्त रुपमा प्रमाणीकरण गर्छ ।
यस्तै वित्तीय स्वस्थता कायम राख्न मद्यत गर्ने एक्सेस अन्र्तराष्ट्रिय स्तरको मापन गर्ने आधार हो । एक्सेसका वित्तीय परिवेश, सदस्य परिवेश, संस्था चल्ने तरिका र सिकाइ तथा समृद्धिको पक्ष लगायत चार परिवेश छन् ।
एक्सेसमा ८६ वटा सुचक हुन्छ भने प्रोवेशनमा ५५ वटा सुचक छन् । यो ब्राण्डिङको कार्यक्रम हार्भड विश्व विद्यालयबाट डिजाइन गरिएको हो ।
एक्सेसमा गएपछि एसियाका सहकारीको एसियाली ऋण महासंघले ब्राण्डिङ गर्छ । उसैले लेखा परिक्षण समेत गर्छ । बार्षिक ५ सय डलर लेखा परिक्षण शुल्क तिर्नुपर्छ ।















