बेरोजगार होइन, निर्वाह भत्ता
रोजगार सूचना केन्द्रमा आफू बेरोजगार भएको सूची दर्ता गर्नुपर्ने छ । केन्द्रमा खटिइएको रोजगार संयोजकले स्थानीय तहभित्र सञ्चालनमा रहेका सार्वजनिक विकास निर्माणसम्बन्धी कार्यक्रम तथा आयोजना सरकारका विभिन्न तहअन्तर्गतका विषयगत मन्त्रालय तथा निकायबाट सञ्चालन हुने विकास निर्माणसम्बन्धी कार्यक्रम तथा आयोजना सञ्चालनमा रोजगारीको अवसर प्रदान गर्नेछ ।
बेरोजगार व्यक्तिलाई सरकारले एक आर्थिक वर्षभित्र कम्तीमा पनि १०० दिनको रोजगारी सुनिश्चित गर्नेछ । यदि केन्द्रमा सूचीकृत बेरोजगारले १०० दिनको रोजगारी नपाए सरकारले नै निजलाई रोजगारी नपाएको दिनको न्यूनतम् पारिश्रमिकको ५० प्रतिशतले हुन आउने रकम निर्वाह भत्ताका रुपमा प्रदान गरिने छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट सरकारले बेरोजगार युवालाई बेरोजगार भत्ता दिने नभई रोजगारी उपलब्ध गराउन नसकेको खण्डमा मात्र निजलाई ५० प्रतिशत पारिश्रमिक बराबरको निर्वाह भत्ता उपलब्ध गराउने बताउनुुहुन्छ ।
निर्वाह भत्ता वितरणमा कुनै राजनीतिक गन्ध तथा अनियमितता नआओस् भनेर सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको निर्देशिकामा स्पष्ट मापदण्ड तोकेको छ । परिवारको कुनै पनि सदस्यले न्यूनतम रोजगारी नपाएमा, नेपाल सरकारले तोकेभन्दा कम वार्षिक आय भएका परिवारले मात्र निर्वाह भत्ता पाउने छन् ।
परिवारका कुनै सदस्य स्वरोजगार एवं वैदेशिक रोजगारीमा नभए र सरकारी कोष (सङ्घ, प्रदेश र स्थानीय तहको कोष), अन्य मुलुक वा अन्तर्राष्ट्रिय एवं अन्तरसरकारी सङ्घ, सङ्गठन तथा अन्य कुनै संस्थाबाट नियमित निवृत्तिभरण र अवकाश सुविधा लिने व्यक्तिले पनि निर्वाह भत्ता प्राप्त गर्ने छैनन् ।
यस्तै सामाजिक सुरक्षा कोष वा नेपाल सरकारको सहायतासम्बन्धी अन्य कोष र रोजारदाताबाट नियमित रुपमा कुनै किसिमको सहायता प्राप्त गरेको अवस्थामा समेत निर्वाह भत्ता पाइने छैन । निर्वाह भत्ता प्राप्त गर्न योग्य परिवारले प्रत्येक आर्थिक वर्षको अन्त्यमा बैंक खातामा मात्र भत्ता प्राप्त गर्नेछन् । एक परिवार एक जनाले मात्र भत्ता प्राप्त गर्ने छन् ।
सूचीकृत बेरोजगारमध्ये शारीरिक रुपमा अशक्त, काम गर्न नसक्ने गरी अपाङ्गता भएका व्यक्ति र छ महिनाभन्दा बढीको गर्भवती तथा सुत्केरी महिलालाई परिवारमा अरु कोही पनि व्यक्ति रोजगार नभएको तथा रोजगार गर्न योग्य नभएको अवस्थामा त्यस्तो हरेक परिवारको एकजनालाई स्वतः निर्वाह भत्ता प्रदान गरिनेछ ।















