मोदीवेणीधामका सात सय वर्ष पुराना शालिग्राम चोरी

ए वान डेस्क
५ फाल्गुन २०७५, आईतवार १२:०२

पर्वतको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थलको रूपमा चिनिएको मोदीवेणीधामबाट शनिबार राति शालिग्राम चोरी भएका छन् ।

मोदीवेणीधामस्थित नृसिंह मन्दिरमा रहेका झण्डै ५० शालिग्राममध्ये ४७ वटा चोरी भएको नृसिंह मन्दिर धार्मिक तथा पर्यटकीय विकास समितिका उपाध्यक्ष केशवदास बैरागीले जानकारी दिनुभयो । मन्दिरमा रहेको मुख्य शालिग्रामसहित अरु साना शालिग्राम पनि चोरी भएका हुन् ।

अज्ञात समूहले मन्दिरको ढोका फुटाएर शालिग्रामसहित दानपेटिकासमेत लगेको उहाँले बताउनुभयो । “दानपेटिकामा भने खास पैसा थिएन”, बैरागीले भन्नुभयो, “शालिग्राम भने लगभग सात सय वर्ष अगाडिका हुन् ।” सबै शालिग्रामको तौल लगभग १०० किलो हुने भएकाले यसमा एक जना मात्रै संलग्न नभएर गिरोहले नै चोरी गरेको हुनसक्ने अनुमान उहाँको रहेको छ ।

पूजाआजाका लागि बिहान ४ बजे पुजारी र भक्तजन मन्दिरमा जाने क्रममा ढोका फोरेर शालिग्राम चोरी भएको थाहा भएको हो । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले चोरी भएको स्थलको अवलोकनपछि प्रहरीले चोरी गर्नेको खोजी गरिरहेको बताउनुभयो । शालिग्राम एउटाको यति नै मूल्य पर्छ भन्ने यकिन छैन । तर मुस्ताङको मुक्तिनाथमा शालिग्राम बिक्री गर्ने व्यवसायीले एउटा शिलालाई रु १० हजारसम्म बिक्री गर्ने गरेको पाइन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*