राजनारायणले ७८ लाख घुस लिएको भिडियो नेकपाले अख्तियारलाई बुझायो
अख्तियारका तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिने क्रममा खिचिएको भिडियो सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अनुसन्धान टोलीलाई बुझाएको छ ।
आवश्यक प्रमाण बटुल्ने क्रममा बिहीबार सिंहदरबारस्थित संसदीय दलमा पुगेको अख्तियारको तीन सदस्यीय अनुसन्धान टोलीलाई नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले उक्त भिडियोसहितको पेन ड्राइभ र अन्य कागजपत्र बुझाएका हुन् ।
‘पाठकले चाँगुनारायण नगरपालिकास्थित इन्जिनियरिङ कलेजमा सञ्चालकसँग घुस लिँदा खिचेको भिडियो हामीलाई पनि प्राप्त भएको थियो’, नेम्बाङले अन्नपूर्णसँग भने, ‘अख्तियारको टोली आएपछि हामीले उक्त भिडियो र आवश्यक कागजपत्र अनुसन्धानका लागि बुझाइदिएका छौँ ।’
पाठकले इन्जिनियरिङ कलेजको सम्पत्ति बाँडफाँटको विवाद मिलाइदिने भन्दै पटक पटक गरेर ७८ लाख रुपैयाँ घुस लिएका थिए । तर उनले घुस लिएर काम नगरिदिएपछि घुस दिने व्यक्तिहरुले नै भिडियो अख्तियार र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेताहरुसम्म पुर्याइ दिएका थिए ।
करिब चार महिना अघि नै उक्त भिडियो बुझाइए पनि दुई साता अघि मात्रै उक्त घुसकाण्डको रहस्य खुलेको थियो । घुसकाण्डमा मुछिएपछि पाठकमाथि महाअभियोग तयारी भएसँगै उनले आयुक्तबाट राजीनामा दिएका थिए ।
अख्तियारले मंगलबार मात्रै एकजना सहसचिवको नेतृत्वमा तीन सदस्यीय अनुसन्धान टोली गठन गरेको थियो । महान्यायाधीवक्ताको कार्यालयले राजीनामा दिएका आयुक्त पाठकमाथि अख्तियारले नै छानबिन गर्न सक्ने राय दिएको थियो । त्यसपछि अख्तियारको अनुसन्धान टोलीले छानबिनलाई तीब्र बनाएको हो ।















