शुरु भयो दोश्रो जीतपुर मेला, काग्रेस नेता गुप्ताले गरे उद्घाटन
ए वान डेस्क /
बाराको जीतपुरमा आजदेखि दोश्रो जीतपुर बृहत खेलकुद, सास्कृतिक एवं व्यापार मेला २०७५ शुरु भएको छ । वडा नम्बर ७ मा आजदेखि शुरु भएको जीतपुर मेलाको नेपाली काग्रेसका नगर सभापति श्यामबाबु गुप्ताले उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै गुप्ताले विकास निर्माणको काममा एक भएर अघि बढ्नुपर्ने बताउनुभयो । सामाजिक कार्यको निम्ति युवाहरु अग्रसर हुनु निकै प्रशंसनीय कार्य भएकोभन्दै उहाले एक भएर अघि बढ्न आग्रह गर्नुभयो ।
जीतपुरसिमराकोे समग्र विकास गर्न जनता स्वयंले चासो दिनुपर्नेभन्दै उहाले सरोकारवाला निकायपनि गंभिर हुनुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जय शाहले व्यापार व्यवसाय प्रर्वद्धन गर्न यस्ता मेला महोत्सवले ठुलो भुमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाली काग्रेसकी नेतृ मधु शाही ठकुरीले युवाहरुको जोस र जागर देखेर आफु निकै खुशि भएको बताउनुभयो । कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु गुप्ता, गढिमाई साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष गणेश शाह, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, समाजसेवी अफ्ताब आलम लगायतको उपस्थिति रहेको थियो । मेला मुल आयोजक समारोह समितिका संयोजक शक्ति गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सुप्रिया ढकालले गर्नुभएको थियो ।
आजदेखि शुरु भएको जीतपुुर मेला चैत्र ३ गतेसम्म चल्नेछ । मेलामा १२५ वटा स्टल रहेको आयोजकले जनाएको छ । एम्बुलेन्स खरिद गर्ने उदेश्यका साथ आयोजना गर्न लागिएको व्यापार मेलामा जगदम्बा ईन्टरप्राईजेज मुख्य प्रायोजक रहेको मुल आयोजक समारोह समितिका संयोजक शक्ति गुप्ताले जानकारी दिनुभयो । उहाका अनुसार सह प्रायोजकमा जगदम्बा स्टिल रहेको छ ।
कुल ६३ लाख ५० हजारको लागतमा हुन लागेको व्यापार मेलामा उद्योग प्रतिष्ठानका उत्पादित सामग्रीहरु, व्यवसायिक बस्तुहरु, ईलेक्ट्रीक तथा ईलेक्ट्रोनिक्स बस्तुहरु, अटोमोबाईल तथा सवारी साधन, सुचना तथा प्रबिधिको प्रदर्शनी, बिभिन्न जातजाती तथा समुदायको साँस्कृतिक झाँकी, ख्याती प्राप्त खेलाडीहरुको सहभागितामा प्रतियोगितात्मक खेल, बाल उद्यान, बिभिन्न मनोरञ्जनात्मक खेलकासाथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुले समेत आफ्नो प्रस्तुती देखाउनेछन् । मेला अवधि भर शान्ति सुरक्षा कायम गर्न ब्यापक रुपमा सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गरिने मेला समितीका कोषाध्यक्ष प्रिन्स गुप्ताले बताउनुभयो ।















