निजगढमा अपाङ्गता भएका व्यक्तिलाई सहायक सामाग्री प्रदान
ए वान डेस्क /
बाराको निजगढमा आज अपाङ्गगता भएका व्यक्तिहरुलाई सहायक सामाग्री प्रदान गरिएको छ । नेत्रहीन संघ बारा र नेपाल अपांग सेवा संघ निजगढ ईकाईले एक कार्यक्रमको आयोजना गरी अपाङ्गगता भएका व्यक्तिहरुलाई सहायक सामाग्री प्रदान गरेको हो ।
कार्यक्रमकाबिच १९ जनालाई ह्विलचियर, आठ जनालाई ट्राइसाइकल, ४० जनालाई सेतो छडी, १२ जनालाई टकिङ वाच, चार जनालाई अल्बो चर्चेज, पाँच जनालाई बैशाखी, चार जनालाई वाकरलगायतको सामाग्री वितरण गरिएको अपांग संघ बाराका अध्यक्ष धनप्रसाद बजगाईले जानकारी दिनुभएको छ । कार्यक्रमकाबिच नेपाली राष्ट्रिय नेत्रहीन महिला क्रिकेट टोलीकी सदस्य मनकेशरी चौधरीलाई पनि सम्मान गरिएको थियो ।
पाकिस्तानमा सम्पन्न अन्तराष्ट्रिय नेत्रहीन क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी चौधरीलाई नेत्रहीन संघ बारा र नेपाल अपांग सेवा संघ निजगढ ईकाईले पँच हजार नगदसहित सम्मान गरेको हो । निजगढ नगरपालिका भित्रका अपांगता भएका व्यक्तिको सहजताका लागि सहयोग सामाग्री वितरण कार्यक्रममा चौधरीलाई निजगढ नगरपालिकाका मेयर सुरेश खनाल र उपमेयर लिलादेवी लामिछानेले सम्मान गर्नुभएको थियो ।
राष्ट्रिय अपांग पुर्नस्थापना समाजले उलपब्ध गराएको करिब १२ लाख मुल्य बराबरको सामाग्री हस्तान्तरण गरिएको हो । सहयोग सामाग्री हस्तान्तरण गर्दै मेयर खनालले अपांगता भएका व्यक्तिलाई स्वरोजगार बनाउन र समाजमा स्थापित गराउन नगरपालिकाले योजना बनाइरहेको बतउनुभयो ।
नगरपालिका भित्र रहेका अपांगताको पहिचान गर्ने काम भइरहेको भन्दै मेयर खनालले अपांगता भएका व्यक्तिको अवस्था हेरेर त्यसैअनुसारको क्षमता अभिबृद्धि र प्रोत्साहनको अभियानलाई अघि बढाउने बताउनुभयो । अपांग भएकै कारण कष्टकर जीवन बिताउनुपर्ने अवस्थाको अन्त्य हुन जरुरी रहेको मेयर खनालको भनाइ थियो। मेयर खनालले नगरपालिका भित्रका सबै संघसंस्थालाई आफ्नो कार्यलय तथा भवन अपांगमैत्री बनाउन समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा उपमेयर लामिछानेले अपांगता भएका बालबालिकाको शिक्षाका लागि नगरपालिकाका काम गर्न तयार रहेको भन्दै यस क्षेत्रमा लागिरहेका संघसंस्थालाई समन्वयकारी भूमिका खेल्न आग्रह गर्नुभयो । अपांगता भएकै कारण शिक्षाबाट बञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न आवश्यक रहेको उपमेयर खनालले बताउनुभयो ।
कार्यक्रममा अपांग पुर्नस्थापना समाजका उपाध्यक्ष सुगम भट्टराईले अपांगता भएका व्यक्तिले अन्य नागरिक सरह नै बाँच्न सक्ने अधिकार रहेको भन्दै उनीहरुको सहजताका लागि संस्थाले सामाग्री उपलब्ध गराएको बताउनुभयो । नेपाल अपांग सेवा संघका प्रदेश २ र ३ का सल्लाहकार समिति सदस्य गंगा वाग्लेले अपांगता भएका नागरिकका लागि राज्य अझै गम्भीर हुन जरुरी रहेको बताउनुभयो ।















