गण्डकी मेडिकल कलेजको ताला खुल्यो
कलेजले बढी पैसा असुलेको भन्दै आन्दोलित विद्यार्थीले ४५ दिनअघि लगाएको गण्डकी शिक्षण अस्पतालको ताला शनिबार खोलेका छन्। गण्डकी मेडिकल कलेज (जीएमसी)का विद्यार्थीले कलेज सञ्चालकमाथि कानुनी कारबाही प्रक्रिया अघि बढेकाले अस्पतालको ताला खोलेका हुन्।
पठनपाठन नियमित गराइदिन माग गर्दै उनीहरुले ताला खोलेका हुन्। प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै सम्पूर्ण विद्यार्थीको नामबाट विज्ञप्ति जारी गरी शनिबार ताला खोलिएको हो।
न्यायिक फैसला र नियमनकारी निकायको प्रतिवेदन नआउन्जेल आन्दोलन स्थगित गरेको घोषणा पत्रमा उल्लेख गरिएको छ। उनीहरु माघ १६ देखि आन्दोलनमा थिए। अस्पतालको आकस्मिकबाहेक सेवा ठप्प थियो।
आन्दोलनकै क्रममा सन् २०१५ यताको ब्याचका ८६ विद्यार्थीले परीक्षा पनि हापिसकेका छन्। पठनपाठन ठप्प छ। कलेजले सरकारबाट तोकिएभन्दा १५ लाख रुपैयाँ बढी असुलेको आरोपसहित विद्यार्थीले फागुन २१ मा कास्की प्रहरीलाई उजुरी गरेका थिए।
त्यसअघि महिना दिनसम्म जुलुश, नाराबाजी र रिलेअनसनसम्मका आन्दोलन गर्दा पनि सुनुवाइ नभएपछि उनीहरुले प्रहरीलाई उजुर गरेका थिए। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पनि कलेज सञ्चालकविरुद्ध विद्यार्थीको उजुरी दर्ता छ।
फागुन २१ मा उजुरी पर्नासाथ कास्की प्रहरीले कलेज सञ्चालकसमेत रहेका पूर्वसीईओ सन्तोष खनाल र कर्मचारी लक्षमण शर्मालाई पक्रेको छ। उनीहरु प्रहरी नियन्त्रणमै छन्। प्रहरीले ठगीबारे अनुसन्धान जारी राखेको जनाएको छ। कलेज अध्यक्ष खुमा अर्यालले भने २३ फागुनमा पक्राउ पुर्जीविरुद्ध अन्तरिम आदेश माग गर्दै उच्च अदालत पोखरामा रिट हालेका थिए। पुर्जी जारी भएको भोलिपल्टै अर्याल अदालत पुगेका हुन्।
अर्यालले आफ्नो रिट निवदेनका पक्षबाट बहस गराउन वरिष्ठ अधिवक्ता शम्भु थापा र रमण श्रेष्ठ, अधिवक्ता पूर्णराज राजवंशी र दीपक पौडेल काठमाडौंबाट डाकेका थिए।
उच्च अदालतले उनको माग अनुसार अन्तरिम आदेश जारी नहुने आदेश गरिसकेको छ। त्यसपछि अर्यालसहित ११ जनालाई पक्रन कास्की प्रहरीलाई बाटो खुलेको थियो। तर २९ फागुनमा अदालतले बाटो खोले पनि अझै कास्की प्रहरीले अरुलाई समात्न सकेको छैन।
प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले छानबिन र अनुसन्धान प्रक्रिया अघि बढिसकेको हुँदा अस्पताल खोल्न विद्यार्थीलाई शुक्रबारै आग्रह गरेका थिए।















