वीरगन्जमा स्वाइन फ्लुबाट एकको मृत्यु
वीरगन्जमा स्वाइन फ्लुबाट एक जनाको मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका-१० आदर्शनगरका सञ्जय कासरियाको स्वाइन फ्लुका कारण मृत्यु भएको हो ।
१५ दिनदेखि बिरामी रहेका कासरियाको ५१ वर्षको उमेरमा शुक्रबार साँझ भारतको उत्तरप्रदेशको लखनउमा उपचारका क्रममा मृत्यु भएको हो ।
भारतको इलाहावादमा लागेको कुम्भ मेलाबाट घर फर्किएपछि कसरिया अस्वस्थ्य भएका थिए। मेलाबाट फर्किएका कासरिया वीरगन्जको एक क्लिनिकमा भर्ना भएका थिए ।
लामो समयसम्म स्वास्थ्यमा सुधार नआएपछि उनलाई थप उपचारका लागि भारत बिहारको राजधानी पटना पुर्याइएको थियो ।
कासरियाका भतिजा अमित अग्रवालका अनुसार, पटना अस्पतालमै उपचारका क्रममा उनलाई स्वाइन फ्लु लागेको पुष्टि भएको थियो ।
स्वास्थ्य झन् जटिल बन्दै गएपछि कासरियालाई पटनाबाट थप उपचारको लागि दिल्ली लाने क्रममा शुक्रबार उनको मृत्यु भएको अग्रवालले जानकारी दिए ।
स्वाइन फ्लुको उपचार सम्भव नरहेको भन्दै पटना अस्पतालले दिल्ली रेफर गरेको थियो । बाटोमै स्वास्थ्य समस्या देखिएपछि उनलाई लखनउ अस्पतालमा शुक्रबार भर्ना गरिएको थियो। उनको सोही अस्पतालमा मृत्यु भएको हो ।
मृतक कासरियाको शनिवार दिउँसो गृहनगर वीरगन्जको अशोकबाटिका स्थित शम्शानघाटमा अन्त्येष्टि गरिएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटराईले कासरियाको मृत्यु स्वाइन फ्लुबाट भएको भन्ने पारिवारजनले बताएको जानकारी दिए। उनले स्वाइन फ्लुकै कारण मृत्यु भएको भए संवेदनशील हुनुपर्ने बताए ।















