फेटामा जब एक्कासी असिना पानी पर्यो ………
बाराको फेटा गाउँपालिका– ६ का ३३ वर्षीय मुनाफ अन्सारीको परिवार आइतबार साँझ सपरिवार बरण्डामा बसेर सुखदुःखका कुरा साट्दै थिए । साँझको अन्दाजी ७ः३० बजेको थियो । एक्कासी असिना पानी प¥यो । एक्कै छिनमा नसोचेको हावाहुरी (हुण्डरी)आयो ।
“पूरै जमिन नै घुमे झँै गरी भुँमरी प¥यो, गाउँ नै उडाउन थाल्यो, घर भकाभक ढल्न थाल्यो,” हिजोको घटना सुनाउँदै अन्सारीले भन्नुभयो, “अनि अल्लाहको नाम लिन थाल्यौँ ।” यत्तिकैमा उहाँको तीन कोठे घरको टायल पनि खसेर सबैलाई थिचेको उहाँले बताउनुभयो ।
जीवन सबैको एकै ठाउँमा गएझैँ भएको अन्सारीले सुनाउनुभयो । तर आफू सामान्य चोट लागे पनि जोगिएकाले खोतलखातल गरेर अन्य सदस्यलाई निकालेको काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा कुरा गर्दै अन्सारीले बताउनुभयो । आफू घाइते भए पनि बुबा गम्भीर रहनुभएकाले उपचारका लागि अन्य सदस्यलाई छाडेर उहाँ काठमाडौँ आउनुभएको हो ।
“सबै पुरिएका थिए, मैले एक एक गर्दै भत्केको छानो पन्छाएर निकालेँ,” कहालीलाग्दो घटना सम्झँदै अन्सारीले मलिन स्वरमा सुनाउनुभयो । उहाँलाई सामान्य घाउचोट मात्रै लागेकाले पनि परिवारका सदस्यलाई निकालेर मर्नबाट भने जोगाउनुभएको थियो । परिवारका अन्य सदस्यलाई स्थानीय अस्पतालमा उपचाररत छाडेर उहाँ गम्भीर बिरामी हुनुभएका ५९ वर्षीय बुबा मोबारक मियाँ अन्सारीलाई लिएर उपचारका लागि यहाँको शिक्षण अस्पतालमा आउनुभएको हो । उहाँहरुलाई नेपाली सेनाको हेलिकप्टरले काठमाडौँ ल्याएको हो ।
बुबाको बायाँ पिँडुल्लामा घरको छानो खसेर गम्भीर घाइते बनाएको छ । हिजोको घटनाले अहिले पनि उहाँलाई बेलाबेलामा झसङ, झसङ पार्छ । तर पनि बुबाको उपचारका लागि उहाँ काठमाडौँमा रहेका केही स्थानीय र आफन्तको सहयोगमा खटिरहनुभएको छ । उहाँको मोबाइलमा तारन्तार घरपरिवारबाट फोनसमेत आइरहेको छ । बुबाको अवस्थाबारेमा उताबाट जानकारी मागिन्छ भने यताबाट अन्य परिवारका सदस्यको स्वास्थ्य अवस्थाबारे उहाँले फोनबाटै जानकारी लिइरहनुभएको छ ।
कुराकानी हुँदै गर्दा उहाँलाई एउटा फोन आयो । “खतम बा ! गोड काटेके परै,” आफ्नै भाषामा मलिन स्वरमा मुनाफ अन्सारीले जवाफ फर्काउनुभयो । त्यसबेला उहाँले फोनमा धेरै कुरा गर्न सक्नुभएन । गला अड्कियो । फोन राख्नुभयो ।
“डाक्टरले गोडा काट्नु पर्छ भनेको छ, आज राति शल्यक्रिया हुँदैछ”, उहाँले भन्नुभयो । साँझ ७ बजेसम्म शल्यक्रियाकै लागि चार पोका रगत जोरजाम भइसकेको छ । गम्भीर घाइते मोवारकलाई शिक्षण अस्पतालको आकस्मिक कक्षमा अक्सिजन दिएर राखिको छ । कसैलाई भेट्न दिइएको छैन । होसमा भए पनि राम्ररी बोल्ने अवस्थामा बुबा नरहेको अन्सारीले सुनाउनुभयो । उहाँको पिँडुल्ल्ला क्षत्विक्षत छ । हड्डीसमेत टुक्रिएकाले जोड्ने अवस्था नरहेको चिकित्सकको भनाइ उद्धृत गर्दै अन्सारीले जानकारी दिनुभयो ।
अन्सारी परिवारका सबै घाइते
आफ्नो पिठ्यूँमा लागको चोट देखाउँदै मुनाफ अन्सारीले सबै परिवार घाइते भएको बताउनुभयो । बगलको एक घरका तीन जना आँखै अगाडि बितेको उहाँले बताउनुभयो । आफू अली कम घाइते भएकाले अन्यलाई अस्पताल लैजानेदेखि बुबालाई काठमाडौँमा उपचारका लागिसमेत आफैँ खटिनुभएको छ ।
उहाँका अनुसार बुबा मोवारकसहित ५५ वर्षीया आमा झोहरा, श्रीमती २७ वर्षीया मेरिना, २३ वर्षीय बुहारी राफा (खुट्टा भाँचिएको), दुई वर्षकी छोरी सहना, सात वर्षीय छोरा फराहान अन्सारी, डेढ वर्षका भतिज फराहाद अन्सारी र १५ वर्षकी छोरी अर्बुन घाइते भएका छन् । बुबालाई वीरगञ्जस्थित हेल्थ केयर सेन्टरमा उपचार नहुने भएपछि सेनाको हेलिकप्टरमा काठमाडौँ लगिएको हो ।
पटेल परिवारको पनि पीडा
दाँहिने घुँडामा गम्भीर घाइते भएका सोही गाउँका ३६ वर्षीय त्रिचन पटेलको खुट्टासमेत भाँचिएको छ । हावाहुरीका कारण त्रिचनका दाई ४० वर्षीय ताराचन, छोरा निखिल, विकास, छोरी पूजा र पूजाकी २० दिने शिशु अनुषालाई समेत चोट लागेको छ । उनीहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेकाले गम्भीर भएका त्रिचनलाई भने सेनाको हेलिकप्टरमा काठमाडौँस्थित शिक्षण अस्पतालमा ल्याइएको छ ।
आजै उहाँको पनि शल्यक्रिया गर्ने तयारी रहेको त्रिचनकी श्रीमती रीनादेवीले बताउनुभयो । कहालीलाग्दो घटना आफूले सम्झँदा पनि डर लाग्ने उहाँको भनाइ थियो । आज साँझ नै स्वास्थ्य मन्त्रालयका सचिव पुष्पा चौधरी र प्रवक्ता महेन्द्र श्रेष्ठले घाइतेको अवस्थाबारे जानकारी लिनुभएको छ । दुई जना गम्भीर रहेको र अन्यको अवस्था अलि राम्रो रहेको श्रेष्ठले बताउनुभयो ।
शिक्षण अस्पतालमा अहिले बारा फेटा गाउँपालिकाका ३६ वर्षीय त्रिचन पटेल, ५९ वर्षीय मोबारक महमद मियाँसहित ५० वर्षीय सुरेश पटेल, तीन वर्षीय अमन पटेल, ३५ वर्षीया गीतादेवी पटेल, ३३ वर्षीय मुना अन्सारी र नौ वर्षीय सलिना खातुनको उपचार भइरहेको छ ।















