२२ राष्ट्रिय गौरवका आयोजना : निर्माण सम्पन्न हुने पहिलो बन्दै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

ए वान डेस्क
४ बैशाख २०७६, बुधबार १६:३२

सरकारले २२ वटा ठुला आयोजनालाई प्रमुख प्राथमिकतामा राखी राष्ट्रिय गौरवका आयोजनाको रूपमा अगाडि बढाइरहेको छ।

२२ आयोजनामध्ये सबैभन्दा पहिले निर्माण सकिने आयोजना भने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भएको छ। ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा समय थप भएपनि राष्ट्रिय गौरवको आयोजनमध्ये सबैभन्दा पहिला काम सकिने आयोजना हुन्छ,’ नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको राष्ट्रिय गौरवको आयोजना कार्यालयका निर्देशक प्रदीप अधिकारीले भने, ‘प्राधिकण र आयोजना कार्यालयको ठुलो सफलता हो।’

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निर्माण भइरहेको ३ किलोमिटर रनवे निर्माणको काम अबको केही दिनमै सकिने अधिकारी बताउँछन्।

त्यति मात्रै नभई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रनवे निर्माणको काम पनि सम्पन्न हुन लागेको छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि राष्ट्रिय गौरवको आयोजना हो।

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार निर्माणको काम असारभित्रै सम्पन्न हुन्छ,’ अधिकारीले भने, ‘विमानस्थल निर्माणको काम सपन्न भएसँगै छिट्टोभन्दा छिटो अन्तर्राष्ट्रिय उडान सुरु हुन्छ।’

प्राधिकरण अन्तर्गतको अर्को विमानस्थल पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि निर्माणका लागि तोकिएको म्यादभन्दा ६ महिना अगाडि नै निर्माण सम्पन्न हुने अधिकारीको दाबी छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
सरकारले २०१४ नोभेम्बरमा चिनियाँ ठेकेदार ‘नर्थ वेस्ट सिभिल एभिएसन’सँग गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सम्झौता गरेको थियो।

सम्झौताअनुसार ठेकदारले २०१७ को डिसेम्बर ३१ सम्म विमानस्थलको ‘आइसिबी-जिरो एक’अन्तर्गतका सबै काम सक्नुपर्ने थियो।

सरकारले ६ अर्ब २२ करोड रुपैयाँमा ‘आइसिबी-जिरो एक’ अन्तर्गत विमानस्थलको ३ किलोमिटरको रनवे, ट्याक्सी-वे, एप्रोन, टर्मिनल भवन र टावर कन्ट्रोल भवन निर्माणका लागि सम्झौता गरेको थियो।

सम्झौतालगत्तै चिनियाँ ठकेदारले काम थालनी गरेको थियो। तर, निर्माण कम्पनीले तोकिएको समयसम्ममा २७ प्रतिशत मात्रै काम गरेको थियो। निर्माण कम्पनीले २०७२ बैशाख १२ मा आएको विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीका कारण निर्माणमा ढिलाइ भएको बताउँदै आएको थियो।

सन् २०१७ को डिसेम्बर ३१ सम्म विमानस्थल निर्माण सम्पन्न हुनुपर्ने सम्झौता थियो। सम्झौता समय सकिनै लाग्दा सरकारले विमानस्थल निर्माणमा चिनियाँ ठेकदारको समय थपको तयारी गरिरहेको थियो।

तत्कालीन सयममा सरोकारवालासँगको छलफलबाट तत्काल निर्माण कम्पनीको ठेक्का रद्द गर्नुभन्दा समय थप गर्नु नै उचित रहेको ठहर भएको अधिकारी बताउँछन्। सबै सरोकारवालाको छलफलपछि सन् २०१७ डिसेम्बेर ३१ सम्मको सयम अवधि बढाएर सन् २०१९ जुन २८ सम्मको समय थप गरेर विमानस्थल निर्माणको काम सक्ने निर्णय भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*